प्रधानमन्त्री शाह पोखरामा
गण्डकी, ५ भदौः प्रधानमन्त्री वालेन्द्र शाह पारिवारिक भ्रमणका सिलसिलामा आज अपराह्न पोखरा आइपुग्नुभएको छ । उहाँ माछापुच्छ्रे गाउँपालिका–६, अस्तामस्थित अन्नपूर्ण इकोभिलेज रिसोर्टमा बास बस्नुहुनेछ ।
प्रधानमन्त्री शाह अस्ताम आइपुग्नुभएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।
“प्रधानमन्त्री नितान्त पारिवारिक भ्रमणमा आउनुभएको हो, उहाँको भ्रमणलाई लक्ष्य गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको छ”, उहाँले भन्नुभयो, “प्रधानमन्त्रीको अन्य कुनै औपचारिक कार्यक्रम छैन ।”
स्थानीयवासी शोभाखर अधिकारीले प्रधानमन्त्रीको भ्रमणले अस्तामवासी खुसी भएको प्रतिक्रिया दिनुभयो । “अस्ताममा सडक, खानेपानीको समस्या छ, प्रधानमन्त्री नै यहाँ आउनुभएपछि गाउँलेका समस्या सम्बोधन हुने आशा छ”, उहाँले भन्नुभयो ।
प्रधानमन्त्रीको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण टेवा पुग्ने अस्तामका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताउनुभयो । प्रधानमन्त्री शाह परिवारका सदस्यसहित काठमाडौँदेखि सडकमार्ग हुँदै पोखरा आउनुभएको हो । उहाँ शनिबार मुस्ताङ जानुहुने कार्यक्रम रहेको जनाइएको छ ।
