Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरानमाथि प्रतिबन्ध समाधान होइनः चीन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस-एएफपी)

बेइजिङ, ५ भदौ : चीनले इरानमाथि अमेरिकी ‘प्रतिबन्ध र दबाब’ बढाएर मध्यपूर्वको द्वन्द्व समाधान नहुने बताउँदै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ ।

अमेरिकाले इरानी अर्थतन्त्रलाई अलग्याउन चीनलगायत मुलुकलाई आफ्नो अभियानमा सहभागी हुन आग्रह गरिरहेका बेला चीनको यस्तो धारणा आएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनमाथि आर्थिक दबाब बढाउने चेतावनी दिँदै आउनुभएको छ । इरानले भने अमेरिकी अभियानलाई ‘आर्थिक आतङ्कवाद’ को संज्ञा दिँदै आएको छ ।

ट्रम्पको पछिल्लो चेतावनीबारे शुक्रबार सोधिएको प्रश्नमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रतिबन्ध र दबाबले समस्या समाधान गर्न नसक्ने बताउनुभयो । उहाँले सम्बन्धित सबै पक्षलाई जिम्मेवार कदम चाल्दै राजनीतिक तथा कूटनीतिक माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभयो ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानमाथि आर्थिक दबाब बढाउने नीतिको बचाउ गर्दै चीनलाई पनि अमेरिकी अभियानमा सहभागी हुन आग्रह गर्नुभएको थियो । उहाँले यस विषयमा धेरै कुराकानी निजी रूपमा गर्नु उपयुक्त हुने बताउनुभएको थियो ।

बेसेन्टको भनाइबारे प्रतिक्रिया दिँदै प्रवक्ता लिनले चीनले अन्तर्राष्ट्रिय कानूनको आधार नभएका तथा संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्ले अनुमोदन नगरेका एकपक्षीय प्रतिबन्धको विरोध गर्ने स्पष्ट पार्नुभयो । उहाँले मध्यपूर्वको समस्या वार्ता र कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्ने चीनको धारणा दोहोर्‍याउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan