‘खराब’ एनिमेसनले चीनमा तहल्का
बेइजिङ, ५ भदौ : कमजोर दृश्य र अस्वाभाविक पात्रका कारण सामाजिक सञ्जालमा मजाक बनेको कम बजेटको चिनियाँ एनिमेटेड फिल्म ‘नियु लाइ’ अहिले त्यही कारण अप्रत्याशित हिट बनेको छ । फिल्म कति ‘खराब’ छ भनेर हेर्न दर्शक सिनेमाघर पुग्न थालेपछि यसको व्यापार बढेको हो ।
टिकट प्लेटफर्म माओयानका अनुसार अगस्ट ५ मा प्रदर्शनमा आएको फिल्मले पहिलो साता करिब सात हजार युआन कमाएको थियो । तर सामाजिक सञ्जालमा चर्चा बढेपछि यसको कुल कमाइ तीन करोड ३० लाख ६० हजार युआन अर्थात् करिब ४९ लाख २० हजार अमेरिकी डलर पुगेको छ ।
आमा–छोराले निर्माण गरेको फिल्म बाछो ‘नियु लाइ’ को यात्रामा आधारित छ । यसलाई बनाउन पाँच वर्ष लागेको र दुवैले मौलिक सङ्गीतसमेत तयार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनमा कार्यरत अमेरिकी सङ्गीतकार केलान मोरियार्टीले फिल्मलाई ‘यति खराब कि त्यति नै राम्रो’ भन्नुभयो । उहाँका अनुसार फिल्म पूर्ण नभए पनि त्यसमा मानवीय भावना र मेहनत देखिन्छ । “एआईले यस्तो फिल्म केही सेकेन्डमै बनाउन सक्थ्यो, तर उनीहरूले एआई प्रयोग नगरी समय लगाएका छन्”, उहाँले भन्नुभयो ।
कठोर देखिने थ्रीडी पात्र र अस्वाभाविक संवाद रहेको फिल्मले बाछो र उसकी आमाबीचको सम्बन्ध देखाउँछ । यसको अपरिष्कृत शैली सामाजिक सञ्जालमा भाइरल भएपछि दर्शकले कमजोरीलाई नै मनोरञ्जनको हिस्सा बनाउन थालेका छन् ।
बेइजिङकी विद्यार्थी स्टेला जिङले सामाजिक सञ्जालमा देखिएका मीमपछि आफू फिल्म हेर्न पुगेको बताउनुभयो । उहाँका अनुसार प्रस्तुति केही असहज भए पनि बाछोको हिँडाइ जस्ता विवरण रमाइला छन् ।
फिल्म चर्चित भएपछि ताओबाओलगायत अनलाइन बजारमा पहेँलो गाईका टी–सर्ट, मूर्ति र अन्य सामग्री बिक्री हुन थालेका छन् । बेइजिङका सिनेमाघरमा पनि फिल्मका हातले बनाइएका ब्यानर देखिन थालेका छन् ।
अस्ट्रेलियाको युनिभर्सिटी अफ न्यु साउथ वेल्सका एसोसिएट प्रोफेसर पान वाङले फिल्मको खस्रोपन र अपूर्णता नै यसको आकर्षण बनेको बताउनुभयो ।
चीनमा एनिमेसनको लोकप्रियता बढिरहेको बेला गत वर्ष ‘ने झा २’ ले ‘इनसाइड आउट २’ लाई उछिन्दै सर्वाधिक कमाउने एनिमेटेड फिल्मको कीर्तिमान बनाएको थियो । ‘नियु लाइ’ को सफलता भने उच्च बजेटभन्दा मानवीय मेहनत र सामाजिक सञ्जालको प्रभावले पनि दर्शक तान्न सक्ने उदाहरण बनेको छ ।
