साङ्गीतिक भविष्य खोजिरहेका केशव
खोटाङ, ६ भदौः दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक साङ्गीतिक क्षेत्रमा लाग्नुभएको नौ वर्ष लाग्यो । वैदेशिक रोजगारीको सिलसिलामा चार वर्ष युएई (दुबाई) बसेर २०७४ सालमा स्वदेश फर्कुनुभएका गायक तथा सङ्गीतकार भावुकले काठमाडौँ बसेर दर्जनौँ गीतमा स्वर भरिसक्नुभएको छ ।
नेपाली साङ्गीतिक दुनियाँका चर्चित गायिका मेलिना राईसँग पहिलो गीत ‘छाडे पनि यो हावा बहन’ बोलको गीतमा युगल स्वर दिएर साङ्गीतिक यात्रा सुरु गर्नुभएका गायक तथा सङ्गीतकार भावुकले चार वर्ष नबित्दै दुबाईमा आयोजित एक कार्यक्रममा ‘ग्लोबल अन्तरराष्ट्रिय अवार्ड–२०२१’ प्राप्त गर्नुभयो । चर्चित गायिका अस्मिता अधिकारीसँग गायक तथा सङ्गीतकार भावुकले गाउनुभएको ‘फूल फुल्यो’ बोलको गीतले दुबाईमा ग्लोबल अन्तरराष्ट्रिय अवार्ड–२०२१ अवार्ड जितेको हो ।
पछिल्लो समयमा सङ्गीतकार हरि लम्सालको सङ्गीतमा ‘यो जुनी यस्तै भो’ म्युजिक भिडियोसहितको आधुनिक गीत बजारमा ल्याउनुभएका गायक तथा सङ्गीतकार भावुकले दुई वर्षअघि ‘अप्सना म्युजिक अवार्ड–२०२४’ समेत हात पार्नुभएको थियो । जुनसुकै विद्याका गीत गाउन सक्ने क्षमता भएका गायक तथा सङ्गीतकार भावुकले ‘छातीभित्र दुख्ने घाउ’ बोलको गीतमा दिनुभएको एकल स्वरले अवार्ड जितेको हो ।
विदेशमा रहँदादेखि नै साङ्गीतिक क्षेत्रमा सक्रिय गायक तथा सङ्गीतकार भावुकले आफ्नै लगानीमा ‘भावुक एल्वम’ समेत बजारमा ल्याउनुभएको छ । ‘हाम्रो माया दुई पन्छी’, ‘तिम्रो माया मेरो लागि’, ‘यो तिहारमा’, ‘मेरी आमा’, ‘बिहानीको शिरशिरेमा’, ‘घुम्दैफिर्दै’, ‘दार्जिलिङ घुम्न आएको’, ‘छाडेपनी यो हावा’ र ‘परदेशीको जीवन’ बोलको गीत समेटेर नेपाल फर्किएलगत्तै २०७४ सालमा भावुक एल्वम बजारमा ल्याउनुभएको हो ।
विसं २०४९ जेठ २७ गते सोल्मामा जन्मुभएका गायक तथा सङ्गीतकार भावुक लक्ष्मण विश्वकर्मा र इन्द्रलक्ष्मी विश्वकर्माको साहिला छोरा हुनुहुन्छ । सोल्मामा घरखेती गरेर कक्षा ११ सम्म अध्ययन पूरा गराउनुभएका बुबाआमाले भावुकको गायक बन्ने सपना पूरा गर्न नसक्ने भएपछि २०६८ सालमा विदेश जानुभएको हो ।
गायक बन्नकै लागि पैसा कमाउन चार वर्षसम्म दुबाई बसेर स्वदेश फर्कनुभएका गायक तथा सङ्गीतकार भावुकले राजधानी काठमाडौँमा रहेर विभिन्न विद्याका दर्जनौँ नेपाली गीतमा सङ्गीतसमेत भरिसक्नुभएको छ । गीत/सङ्गीतसम्बन्धी अहिलेसम्म औपचारिक शिक्षा नलिनुभएका भावुक पछिल्लो समय नेपाली गीत तथा सङ्गीतकै काममा व्यस्त हुनुहुन्छ ।
सोल्माका सामान्य दलित परिवारमा जन्मनुभएका गायक भावुकका दुई दाजु जेठा विक्रम र माहिला पदम दुबई तथा भाइ सविन विश्वकर्मा जापानमा हुनुहुन्छ । पढाइ छाडेर निकै कडा मिहिनेतले गायक तथा सङ्गीतकार बन्नुभएका भावुकले पछिल्लो समय साङ्गीतिक क्षेत्रबाटै परिवार धानिरहनुभएको छ ।
जीवन भोगाइ र देश प्रेमले ओतप्रोत गीत गाउन तथा सङ्गीत भर्न रुचाउने गायक भावुकले माया पिरतीका गीतसमेत गाउनुभएको छ । चलचित्र प्रसाद–२ को ‘ए माया’ बोलको बिछोडको पीडासम्बन्धी गीत गाउन पाउँदा आफूलाई साङ्गीतिक दुनियाँमा प्रमाणित गर्ने अवसर मिलेको गायक भावुक बताउनुहुन्छ ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–६ नेर्पाकी जयन्ता जगमेरसँग १४ वर्षअघि विवाह बन्धनमा बाँधिएर तीन छोराका बुबासमेत बनिसक्नुभएका गायक भावुक नेपाली समाज राम्रोलाई भन्दा गलत र अश्लिलतामा रमाउन थालेको प्रति आफूलाई दुःख लागेको बताउनुहुन्छ । “मैले मेरो अन्तिम सास रहुञ्जेल नेपाली गीत तथा सङ्गीतमा योगदान गर्ने अठोट लिएको छु । तर, नेपाली समाज राम्रोलाई भन्दा गलत र अस्लिलतामा रमाउन थालेको देख्दा दुःख लाग्छ”, उहाँले भन्नुभयो, “साङ्गीतिक यात्राका क्रममा मैले स्थापित र नयाँ कलाकारहरू दुवैसँग सङ्गत गर्ने अवसर पाएँ । हुलको पछाडि लागिनँ । जति सक्छु देशका लागि गर्छु । चर्चामा आएर पैसाका लागि इमान बेच्दिनँ ।”
विद्यार्थी जीवनदेखि गीत/सङ्गीतमा रुचि तथा कक्षा ११ पढ्दै गर्दा रेडियो कार्यक्रमसमेत सञ्चालन गर्नुभएका गायक तथा सङ्गीतकार भावुकले तोरेम्पाहाङको सङ्गीत तथा चर्चित कलाकार विल्सनबिक्रम राई ‘तक्मे बुढा’को शब्दमा ‘घुम्दै आको सोल्टिनी’ बोलको नयाँ गीत म्युजिक भिडियोसहित बजारमा ल्याउने तयारी गरिहेको जानकारी दिनुभयो । गायिका मन्माबी राईसँगको युगल स्वरमा तयार भएको पूर्वेली लोकदोहोरी गीतको म्युजिक भिडियोमा विल्सनबिक्रम, एलिस राई, अनुशा राई, जानुका गुरुङलगायतका कलाकारको भूमिका रहेको जनाइएको छ ।
