Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)

कञ्चनपुर, ८ भदौः  आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरको समन्वयमा कञ्चनपुरका किसान र फस्ट च्वाइस फुड्स लिमिटेडबीच यहाँका किसानले ८० बिघा जमिनमा उत्पादन गरेको आलु खरिद गर्ने सम्झौता भएपछि किसान खुसी भएका हुन् । 

आलु उत्पादनमा आबद्ध किसानले बजारको समस्या नहुने भएपछि किसान आलुखेतीको थप विस्तारमा लाग्ने भएका छन् । दुई बिघा जमिनमा आलुखेती गर्दै आउनुभएका कञ्चनपुरको बेदकोट नगरपालिका–५ धरमपुरका कलुवा कामी यस वर्ष खेती विस्तार गरेर पाँच बिघा पुर्याउने तयारीमा हुनुहुन्छ । 

उत्पादन गरिएको आलुको बजार सुनिश्चित भएपछि खेती बढाउन लागेको उहाँले बताउनुभयो । “विगतका वर्षमा बजारमा न्यून मूल्यमा बिक्री गर्नुपर्ने र भण्डारणका लागि शीतभण्डारसमेत नहुँदा समस्या हुने गरेको थियो । कामीले भन्नुभयो, “अहिले ज्ञान केन्द्रको समन्वयमा उद्योगसँग सम्झौता भएपछि बजारको समस्या रहेन यसपटक पाँच बिघा जमिनमा खेती गर्ने तयारीमा छु ।” 

उहाँले विगतमा दुई बिघा जमिनमा आलुखेती गर्दै आएको बताउनुभयो । “यसपटक हामीले उत्पादन गरेको आलुखेतबाटै उठाउने सम्झौता भएको छ ।” उहाँले भन्नुभयो, “बजारको सुनिश्चितता भएपछि खेती विस्तारको योजना छ ।”     त्यसैगरी शुक्लाफाँटा नगरपालिका–३ जोनापुरका टीकाराम डगौरासमेत यस वर्ष आलुखेती बढाउने तयारीमा लाग्नुभएको छ ।  गतवर्ष १२२ जनाको समूहमा १० बिघा जमिनमा आलुखेती गर्दै आएका उहाँ यस वर्ष २० बिघाभन्दा बढी जग्गामा खेती गर्ने तयारीमा हुनुहुन्छ । 

“विगतमा आलु भण्डारण गर्न समस्या थियो बजारमा न्यून मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो ।” डगौराले भन्नुभयो, “आलु चिप्स कम्पनीसँग किसानको बारीमै पुगेर आलु खरिद गर्ने सम्झौता भएपछि अब बजारको समस्या अन्त्य भएको छ ।” 

उहाँका अनुसार बजारमा आलुको कम मूल्य भए पनि उक्त कम्पनीले किसानलाई बजार मूल्यभन्दा बढीमा खरिद गर्ने सम्झौता गरेकोछ । उहाँले गत वर्ष थारु आलुले बजार नपाएको बताउनुभयो । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख हरिप्रसाद पनेरुले उक्त सम्झौताअनुसार यहाँका किसानले उत्पादन गरेको आलु उद्योगले खरिद गर्ने जानकारी दिनुभयो । 

“यहाँ आलु उत्पादन बढी हुन्छ अब किसानले उत्पादन गरेको आलु बिक्रीका लागि बजार खोज्नुपर्ने समस्या हुँदैन”, पनेरुले भन्नुभयो, “सम्झौताअनुसार उद्योगले किसानको बारीमै पुगेर आलु खरिद गर्नेछ यसले किसानको बजारको सुनिश्चितता गरेको छ ।”  उक्त सम्झौताले उत्पादन भएको आलु बिक्रीका लागि किसानले बजार खोज्नुपर्ने अवस्थाको अन्त्य हुने र किसानलाई व्यावसायिक खेतीमा प्रोत्साहन मिल्ने कृषि ज्ञान केन्द्रले जनाएको छ । 

कृषि ज्ञान केन्द्र कञ्चनपुरका अनुसार जिल्लामा एक हजार आठ सय हेक्टर जमिनमा आलुखेती हुँदै आएको छ । ज्ञान केन्द्रबाट प्रदान गरिने अनुदान र यसपटक किसानले उत्पादन गरेका आलुको बिक्री सुनिश्चितता भएपछि आलुखेती बढ्दै गएको ज्ञान केन्द्रले जनाएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan