मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
मकवानपुर, ८ भदौः बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरको नियुक्तिविरुद्ध परेको रिटमा अदालतले निवेदकका पक्षमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । मुख्यमन्त्रीविरुद्ध उच्च अदालत पाटन, हेटौँडा इजलासमा दायर भएका दुई छुट्टाछुट्टै रिटमा न्यायाधीश वविता उप्रेतीको एकल इजलासले विपक्षीहरूका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलकी प्रमुख सचेतक कुमारी तामाङ र अधिवक्ता मोहनप्रसाद ढकालले मुख्यमन्त्री नियुक्तिविरुद्ध छुट्टाछुट्टै रूपमा दायर गर्नुभएको उत्प्रेषण तथा परमादेशसम्बन्धी रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश उप्रेतीको एकल इजलासले यस्तो आदेश गरेको हेटौँडा इजलासका उपरजिष्ट्रार बद्रीप्रसाद लामिछानेले जानकारी दिनुभयो ।
रिटमा प्रदेश प्रमुखको कार्यालय, बागमती प्रदेशलगायत विभिन्न निकाय र व्यक्तिलाई विपक्षी बनाइएको छ । निवेदकले माग गरे बमोजिम आदेश जारी हुनुपर्ने हो वा होइन भन्ने सम्बन्धमा आधार, प्रमाण र कारण खुलाएर १५ दिनभित्र लिखित जवाफ पेस गर्न विपक्षीलाई अदालतले भनेको उपरजिष्ट्रार लामिछानेले जानकारी दिनुभयो । यसबारे अदालतले छलफलका लागि यही भदौ १० गते दुवै पक्षलाई बोलाएको छ ।
