पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)
गण्डकी, ८ भदौः वर्षायामका कारण गत जेठ १८ गतेदेखि बन्द रहेको पोखरा–जोमसोम हवाई उडान आजदेखि पुनः सुरु भएको छ ।
पोखरा अन्तरराष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालयका सूचना अधिकारी विनोदसिंह रावतका अनुसार आज समिट एयरको विमानले पोखरा–जोमसोम उडान तीन पटक गरेका छन् ।
कम ‘भिजिबिलिटी’का कारण हरेक वर्षायाममा पोखरा–जोमसोम हवाई उडान बन्द हुने गरेको छ । पर्यटक आगमनको याम सुरु हुन लागेकाले उडान पुनः सञ्चालन भएसँगै मुस्ताङको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
