Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गणेशमानको जीवनमा आधारित ‘वीर गणेशमान’ नाटक मञ्चन हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)

काठमाडौँ, ८ भदौः नेपाली प्रजातान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व लौहपुरुष गणेशमान सिंहको जीवन, सङ्घर्ष, त्याग र निष्ठामा आधारित ऐतिहासिक नाटक ‘वीर गणेशमान’ यही भदौ १४ गतेदेखि काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा मञ्चन हुने भएको छ ।

    गणेशमान फाउन्डेसनको आयोजना तथा नेपालको अग्रणी रङ्गमञ्च समूह सर्वनामको प्रस्तुति रहेको यस नाटक आगामी असोज १४ गतेसम्म मञ्चन हुनेछ । यो ऐतिहासिक नाटकको परिकल्पना, नाट्य रूपान्तरण तथा निर्देशन वरिष्ठ रङ्गकर्मी अशेष मल्लले गर्नुभएको हो ।

    निर्देशक मल्लका अनुसार ‘वीर गणेशमान’ कुनै ऐतिहासिक व्यक्तित्वको जीवनीमा आधारित नाटक मात्र नभई इमानदारी र देशप्रतिको समर्पणको कथा पनि हो । आफ्नो पाँच दशक लामो नाट्य यात्रामा यस्तो यथार्थपरक नाटक पहिलोपटक गर्न लागेको बताउँदै उहाँले भन्नुभयो, “बिम्ब र प्रतिकसँग खेल्ने मेरो नियमित अभ्यासभन्दा यो प्रस्तुति फरक छ । एउटा निष्ठावान् र सच्चरित्र योद्धाको तेस्रो आयाम दर्शकसम्म सञ्चारित गर्ने प्रयास स्वरूप नाटक निर्देशन गरेको हुँ ।”

    नाटकमा निरङ्कुश जहानियाँ राणा शासनविरुद्ध गणेशमान सिंहले गर्नुभएको सङ्घर्ष, उहाँले भोग्नुभएको जेल जीवन र छ फिट अग्लो जेलको पर्खाल नाघेर गर्नुभएको साहसिक पलायनलाई विशेष रूपमा प्रस्तुत गरिने मल्लले बताउनुभयो । प्रजातन्त्र स्थापनाका लागि मृत्युदण्डको समेत बेवास्ता गर्दै निरन्तर सङ्घर्ष गर्नुभएका सिंहको त्याग र अडिग निष्ठालाई नाटकले रङ्गमञ्चमार्फत जीवन्त बनाउने प्रयास गर्ने उहाँले बताउनुभयो ।

    यसका साथै, २०४६ सालको ऐतिहासिक जनआन्दोलनको सफलतापछि उहाँले प्रधानमन्त्री पदसमेत अस्वीकार गर्नुभएको महत्त्वपूर्ण घटनालाई नाटकमा समेटिएको छ । व्यक्तिगत स्वार्थ, परिवार, पार्टी र सत्ताभन्दा माथि देश र जनतालाई राख्ने उहाँको राजनीतिक दर्शनलाई यसले उजागर गर्नेछ ।

    विगत ४५ वर्षदेखि नेपाली रङ्गमञ्चमा निरन्तर सक्रिय सर्वनामले तत्कालीन पञ्चायती व्यवस्था र निरङ्कुशताविरुद्ध सडक नाटकमार्फत चेतना जगाउने काम गर्दै आएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan