Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णालीका नौ जिल्लामा फलफूल बगैँचा स्थापना हुने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)

जुम्ला, ८ भदौः कर्णालीका नौ जिल्लामा फलफूल बगैँचा स्थापना गरिने भएको छ । पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, कार्यान्वयन एकाइ सुर्खेतले बगैँचा स्थापना गर्न लागेको हो । 

आर्थिक वर्ष २०८३/८४ का लागि जुम्लालगायत कर्णालीका नौ वटा जिल्लामा उक्त कार्यक्रम लागू गर्न लागिएको कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । आयोजना कार्यान्वयन एकाइ सुर्खेतले आज  सार्वजनिक गरेको सूचनाअनुसार जुम्लाको हिमा, सिंजा र कनकासुन्दरी गाउँपालिकामा फलफूल बगैँचा स्थापना कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ ।

कार्यक्रमअन्तर्गत रुकुम–पश्चिमको बाफीकोट, मुसिकोट र सानीभेरी नगरपालिका, सल्यानका सिद्धकुमाख र शारदा नगरपालिका, जाजरकोटको छेडागाड र जुनिचाँदे, दैलेखको नारायण, आठबीस र चामुण्डा विन्द्रासैनी नगरपालिकामा  फलफूल बगैँचा स्थापना कार्यक्रम सञ्चालन हुने पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना, कार्यान्वयन एकाइ सुर्खेतका प्रादेशिक आयोजना व्यवस्थापक चित्रबहादुर रोकायाले जानकारी दिनुभयो । 

कालिकोट जिल्लाको नरहरिनाथ र शुभकालिका, मुगुको सोरु र खत्याड, हुम्लाको ताँजाकोट र अदानचुली तथा डोल्पाको मुड्केचुला गाउँपालिकामा कार्यक्रम सञ्चालन हुनेछ । रुकुम पश्चिम, सल्यान, जाजरकोट र दैलेखमा सुन्तलाजात फलफूल, ओखर तथा चुच्चे ओखरलगायत बालीलाई प्राथमिकता दिइनेछ । त्यस्तै कालिकोट, जुम्ला, मुगु, हुम्ला र डोल्पामा स्याउ, ओखर, कागजी बदाम र किवी लगायतका फलफूल बालीमा कार्यक्रम लागू गरिने आयोजना व्यवस्थापक रोकायाको भनाइ छ ।

पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजनाको कार्यक्रम सञ्चालन कार्यविधि २०८३ अनुसार बालीहरुको बगैँचा स्थापनामा अनुदानसमेत प्रदान गरिनेछ । आयोजनाले फलफूलखेतीको विस्तारमार्फत पहाडी तथा हिमाली क्षेत्रमा व्यावसायिक फलफूल उत्पादन बढाउने, कृषकको आयआर्जनमा वृद्धि गर्ने तथा स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्य रहेको कार्यान्वयन एकाइ सुर्खेतका प्रादेशिक आयोजना व्यवस्थापक रोकायाले बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan