Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

डोभाल–हान भेटमा सीमा शान्तिमा जोड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार | (रासस/एएनआई)

बेइजिङ, ९ भदौ : भारत र चीनले सीमा क्षेत्रमा शान्ति तथा स्थिरता कायम गर्दै द्विपक्षीय सम्बन्ध सुधार गर्ने उपायबारे छलफल गरेका छन् । दुईदिने चीन भ्रमणमा रहनुभएका भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले मङ्गलबार चिनियाँ उपराष्ट्रपति हान झेङसँग भेटवार्ता गर्नुभएको हो ।

भारत–चीन सीमा प्रश्नसम्बन्धी विशेष प्रतिनिधिको २५औँ चरणको वार्ताअघि भएको भेटमा सीमा क्षेत्रमा शान्ति र स्थिरता सुदृढ गर्ने तथा आर्थिक, राजनीतिक र बहुपक्षीय क्षेत्रमा सहकार्य बढाउने विषयमा छलफल भएको चीनस्थित भारतीय दूतावासले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुवै पक्षले पछिल्लो घटनाक्रमको समीक्षा गर्दै सम्बन्धलाई क्रमशः सामान्य बनाउने दिशामा प्रगति भइरहेको बताउनुभयो । उहाँका अनुसार स्थिर, पूर्वानुमानयोग्य र रचनात्मक सम्बन्धले दुई देशबीच विश्वास र समझदारी बढाउन सहयोग गर्नेछ ।

    डोभाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच पनि २५औँ चरणको विशेष प्रतिनिधि वार्ता हुँदैछ । गत जुनमा नयाँदिल्लीमा भएको ब्रिक्स राष्ट्रिय सुरक्षा सल्लाहकारहरूको बैठकका क्रममा डोभाल र वाङबीच भेटवार्ता भएको थियो ।

भारत–चीन सम्बन्ध सुधारको प्रयासका क्रममा गत वर्ष तियानजिनमा भएको एससीओ शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको थियो । दुवै नेताले दुई देश विकासका साझेदार रहेको र मतभेदलाई विवादमा परिणत हुन दिन नहुनेमा जोड दिनुभएको थियो ।

सीमा विवादका कारण लामो समयदेखि तनावपूर्ण रहेको भारत–चीन सम्बन्धलाई उच्चस्तरीय संवादमार्फत क्रमशः सामान्य बनाउने प्रयास भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan