रसुवागढी–केरुङ विपत्तिबारे फैलिएका सूचनालाई चिनियाँ दूतावासले भन्यो ‘फेक न्यूज’
काठमाडौं, ११ भदौ । नेपाल–चीन सीमास्थित रसुवागढी–केरुङ (ग्याइरोङ) क्षेत्रमा भएको विनाशकारी बाढी तथा पहिरोको घटनालाई लिएर सामाजिक सञ्जाल तथा केही सञ्चारमाध्यममा फैलिएका सूचनाबारे नेपालस्थित चिनियाँ दूतावासले स्पष्टीकरण दिएको छ।
दूतावासले चीनले विपत्तिबारे नेपाललाई पूर्वसूचना नदिएको तथा चीनतर्फको भौगोलिक विपत्तिका कारण नेपालमा ठूलो क्षति भएको भन्ने दाबीलाई भ्रामक र असत्य (‘फेक न्यूज’) को संज्ञा दिएको हो।
दूतावासका अनुसार, अगस्ट २६ को बिहान नेपाल–चीन सीमावर्ती क्षेत्रमा अचानक हिमपहिरो तथा पहिरोको घटना भएको थियो। त्यसबाट आएको ठूलो बाढीले नेपाल र चीन दुवैतर्फ मानवीय तथा भौतिक क्षति पुर्या एको उसको भनाइ छ।
चिनियाँ पक्षले घटनालाई लिएर एकअर्कामाथि आरोप–प्रत्यारोप गर्नुभन्दा विपत्तिको समयमा उद्धार तथा राहत कार्यमा सहकार्य गर्नुपर्नेमा जोड दिएको छ। दूतावासको सन्देशमा ‘आरोपले केही समाधान दिँदैन, सहकार्यले जीवन बचाउँछ’ भन्ने धारणा सार्वजनिक गरिएको छ।
चीनको ग्याइरोङ क्षेत्रमा पनि विपत्तिको गम्भीर असर परेको चिनियाँ अधिकारीहरूले बताएका छन्। चिनियाँ सरकारी विवरणअनुसार ग्याइरोङ बन्दरगाह क्षेत्रमा तीन जनाको मृत्यु भएको र २६५ जना बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ। सडक, सञ्चार तथा विद्युत् आपूर्तिमा समेत क्षति पुगेको जनाइएको छ।
यता नेपालतर्फ रसुवा र नुवाकोटका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोले ठूलो क्षति पुर्यापएको छ। रसुवागढी नाका जोड्ने सडक तथा पुलहरूमा समेत व्यापक क्षति पुगेपछि उद्धार र राहत कार्य चुनौतीपूर्ण बनेको छ।
विपत्तिको कारणबारे प्रारम्भिक विवरणमा भूकम्प, हिमपहिरो तथा पहिरोका विभिन्न सम्भावना सार्वजनिक भए पनि पछिल्ला वैज्ञानिक विश्लेषणहरूले हिमनदीको ठूलो भाग भत्किँदा उत्पन्न भएको बहाव तथा पहिरो प्रमुख कारण हुनसक्ने देखाएका छन्।
यसबीच, दुवै देशतर्फ उद्धार तथा राहतका प्रयास जारी रहेका छन्। चिनियाँ दूतावासले पनि विपत्तिको संवेदनशील अवस्थामा अपुष्ट सूचना तथा आरोप–प्रत्यारोपभन्दा आधिकारिक सूचनामा भर पर्न र मानवीय उद्धारमा सहकार्य गर्नुपर्ने सन्देश दिएको छ।
