रसुवामा बाढीको वितण्डा : उद्धारमा नेपाली सेनाको विशेष टोली परिचालन (अपडेट)
काठमाडौं । रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रमा बुधबार बिहान अचानक आएको बाढीले खोला तथा नदी तटीय क्षेत्रमा क्षति पुर्याएपछि नेपाली सेनाले खोज, उद्धार तथा विपद् व्यवस्थापनका लागि विशेष टोली परिचालन गरेको छ।
बिहान करिब ९ बजे आएको बाढीले टिमुरे, स्याफ्रुबेसीलगायतका क्षेत्रमा भौतिक संरचना तथा सडक पूर्वाधारमा समेत क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढीको वास्तविक क्षतिको विवरण भने संकलन भइरहेको नेपाली सेनाले जनाएको छ।
सम्भावित जोखिममा परेकाहरूको खोज तथा उद्धारलाई तीव्र बनाउन नेपाली सेनाका दुई वटा हेलिकप्टर त्रिशूली क्षेत्रमा पुगेका छन्। त्यस्तै, त्रिशूलीस्थित जिल्ला अस्पतालमा आवश्यक सहयोग पुर्याउन Emergency Medical Rescue Team (EMRT) लाई एमआई–१७ हेलिकप्टरसहित परिचालन गरिएको छ।
घाइते तथा बिरामीको उद्धार, उपचारका लागि अस्पतालसम्म सुरक्षित स्थानान्तरण र आवश्यक स्वास्थ्य सहायता उपलब्ध गराउने उद्देश्यले EMRT परिचालन गरिएको हो।
यसैगरी धुन्चे र त्रिशूलीस्थित नेपाली सेनाका ब्यारेकबाट उद्धार तथा विपद् व्यवस्थापनमा दक्ष जनशक्ति प्रभावित क्षेत्रमा खटाइएको छ। गजुरीस्थित नं. ६ बाहिनी अड्डाबाट समेत विपद् व्यवस्थापनमा दक्ष जनशक्ति प्रभावित क्षेत्रमा परिचालन गरिएको सेनाले जनाएको छ।
बाढीपछि सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै सुरक्षाकर्मीले नदी तथा खोला आसपासका बस्तीमा निगरानी बढाएका छन्। उद्धार टोलीले प्रभावित क्षेत्रमा पुगेर जोखिममा रहेका नागरिकको अवस्था बुझ्ने, आवश्यक उद्धार गर्ने तथा क्षतिको प्रारम्भिक विवरण संकलन गर्ने काम गरिरहेको छ।
बाढीका कारण त्रिशूली र नारायणी नदीको तटीय क्षेत्रमा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले नदी किनार तथा खोला आसपास बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन नेपाली सेनाले आग्रह गरेको छ।
सेनाले प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित सबै पक्षसँग आवश्यक समन्वय र सहकार्य गर्न समेत आग्रह गरेको छ।
प्राकृतिक विपद्का कारण सडक तथा यातायातमा अवरोध आउन सक्ने र कतिपय स्थानमा सञ्चार तथा आवागमन प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न पनि आग्रह गरिएको छ।
यसैबीच, प्रभावित क्षेत्रमा थप क्षतिको विवरण प्राप्त हुने क्रम जारी रहेकाले मानवीय क्षति, घर तथा संरचनामा भएको क्षति र अन्य पूर्वाधारको अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ। नेपाली सेना तथा अन्य सुरक्षा निकायले खोज तथा उद्धारलाई प्राथमिकतामा राखेर आवश्यक जनशक्ति र स्रोतसाधन परिचालन गरिरहेका छन्।
बाढीको जोखिम अझै कायमै रहेकाले नदी तथा खोलाको सतह र बहावमा आएको परिवर्तनलाई बेवास्ता नगर्न तथा सुरक्षित स्थानमा रहन स्थानीय बासिन्दालाई आग्रह गरिएको छ।
