त्रिशूली र नारायणी नदीमा शवको खोजी तीव्र, ६९ वटा भेटियो
चितवन, ११ भदौः चितवन जिल्ला हुँदै बगेको त्रिशूली र नारायणी नदीमा आज बिहानदेखि शव खोज्ने काम सुरु गरिएको छ । अहिले बिहान ११ः०० बजेसम्म ६९ वटा शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार १९ पुरुष, १५ महिला, चार बालक, दुई बालिकाको सग्लो र २९ वटा अङ्गभङ्ग अवस्थाको शव फेला परेको छ ।
शव खोजीका लागि नेपाली सेनाका ३३३ जना, नेपाल प्रहरीका २५० जना र सशस्त्र प्रहरीका १५० जनाभन्दा बढी जनशक्ति नदी किनारमा परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो । शव खोजी तथा व्यवस्थापनका विषयमा सरोकारवालाहरुसँग जिल्ला प्रशासन कार्यालयमा छलफल गरिएको छ ।
प्रजिअ अर्यालले उद्योग सङ्घ चितवनसँगै रहेको औद्योगिक विकास प्रतिष्ठानमा शव राख्नका लागि वातावरण अनुकूलित ठाउँ बनाइँदै गरेको जानकारी दिनुभयो ।
सो स्थानमा शव राखेर सम्बन्धित शवको तस्बिर बाहिर ‘मोनिटर’मा देखाइने भएको छ । भेटिएका शवको नजिकबाट तस्बिर लिएर ‘कोडिङ’ गरिँदै छ । शवको खोजीमा आएकाहरुलाई देखाएपछि पहिचान भएपछि आवश्यक प्रक्रिया पूरा गरेर सम्बन्धितलाई शव हस्तान्तरण गरिने भएको छ ।
हालसम्म भेटिएका शव भरतपुर अस्पतालको शव गृहमा राखिएको छ । प्रजिअ अर्यालले अस्पतालमा खादेर राख्दा बढीमा ८० वटासम्म शव राख्ने क्षमता भएको जानकारी दिनुभयो ।
बाहिरी जिल्लाबाट पठाइएका शवलाई सम्बन्धित जिल्लामा फिर्ता गरिएको भन्दै उहाँले अन्य जिल्लालाई आफैँ व्यवस्थापन गर्न आग्रह गरिएको बताउनुभयो । तनहुँबाट बुधबार पठाइएका नौ वटा शवलाई फिर्ता गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटीले शव राख्नका लागि ९५ वटा झोला सुरक्षा निकायलाई हस्तान्तरण गरेको छ । शवका लागि आवश्यक त्रिपाल र स्टेचर पनि रेडक्रसले नै उपलब्ध गराएको छ ।
बैठकमा होटल व्यवसायी सङ्घ चितवनले आफन्त हराएर खोज्न आउनेहरुलाई निःशुल्क रुपमा खान र बस्न व्यवस्था गर्ने जनाएको छ । सङ्घका महासचिव कृष्णकुमार चौधरीले सबै होटलमा छुट्याएर बस्ने र खाने व्यवस्था गरिने बताउनुभयो ।
शव खोजी र व्यवस्थापनका क्रममा आवश्यक सामग्री सहयोग गर्न उद्योग वाणिज्य सङ्घ चितवन र उद्योग सङ्घले आफू र मातहतका निकायमार्फत सहयोग गर्ने जनाएका छन् । सो क्रममा प्रमुख जिल्ला अधिकारी अर्यालले विभत्स तस्बिर समाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रयोग नगर्न आग्रह गर्नुभयो ।
बैठकमा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, नदी तटीय क्षेत्रका वडा अध्यक्षहरु, सुरक्षा निकायका प्रमुखहरु, अस्पताल व्यवस्थापक एवं सञ्चालक, उद्योग वाणिज्य सङ्घ र उद्योग सङ्घका अध्यक्षलगायत सरोकार भएकाहरुको उपस्थिति थियो ।
