Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण : अमेरिकातर्फ उड्दै बालेन, प्रश्नको भारी पनि सँगै

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ६ मंगलबार |

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आफ्नो पहिलो विदेश भ्रमणका लागि आज संयुक्त राज्य अमेरिकातर्फ प्रस्थान गर्दैछन्। प्रधानमन्त्री शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज अपराह्न ४ः१५ बजेको कतार एयरवेजको उडानबाट अमेरिका जाने कार्यक्रम छ।

प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण नै अमेरिकाबाट सुरु गर्न लागेका शाहको यो भ्रमणलाई सरकारले कूटनीतिक र राष्ट्रिय हितका दृष्टिले महत्वपूर्ण मानेको छ। तर, विदेश भ्रमण केवल विमान चढ्ने र औपचारिक भेटघाट गर्ने विषय मात्रै होइन। प्रधानमन्त्रीको भ्रमणले नेपाललाई के उपलब्धि दिन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुन्छ।

प्रधानमन्त्रीसँग जाने प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, फोटोग्राफर विनय शाक्यलगायत रहेका छन्।

प्रतिनिधिमण्डलको संरचनाले पनि भ्रमणको प्राथमिकता र उद्देश्यबारे चासो जन्माएको छ। आखिर प्रधानमन्त्रीको पहिलो विदेश भ्रमणको एजेन्डा के हो ? नेपालले अमेरिकासँग कुन विषयलाई प्राथमिकतामा राख्दैछ ? लगानी, व्यापार, रोजगारी, प्रविधि, विकास सहायता, सुरक्षा सहकार्य वा कूटनीतिक सम्बन्ध—कुन विषयमा ठोस उपलब्धि हासिल गर्ने तयारी छ ?

विदेश भ्रमणको सफलताको मापन फोटो, भेटघाट र स्वागत–सत्कारले होइन, त्यसबाट मुलुकले प्राप्त गर्ने परिणामले गर्ने हो।
प्रधानमन्त्री शाहको राजनीतिक उदयसँगै जनतामा नयाँ अपेक्षा पनि जन्मिएको छ। त्यसैले पहिलो विदेश भ्रमणमा पनि जनताको प्रश्न स्वाभाविक छ—प्रधानमन्त्री अमेरिका जाँदैछन्, तर नेपालले के पाउँदैछ ?

भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता, द्विपक्षीय छलफल तथा नेपालको हितसँग जोडिएका विषयमा ठोस पहल भए त्यसले सरकारको कूटनीतिक सक्रियताको आधार तयार गर्न सक्छ। तर भ्रमण उपलब्धिविहीन औपचारिकतामा सीमित भयो भने प्रश्न उठ्नु पनि स्वाभाविक हुनेछ।

प्रधानमन्त्रीका लागि यो विदेश भ्रमण व्यक्तिगत वा राजनीतिक यात्राभन्दा माथि उठेर नेपालको प्रतिनिधित्व गर्ने अवसर हो। त्यसैले भ्रमणमा राज्यको खर्च, प्रतिनिधिमण्डलको औचित्य, भेटवार्ताको एजेन्डा र हासिल हुने उपलब्धिबारे पारदर्शिता आवश्यक छ।

जनताको अपेक्षा स्पष्ट छ—भ्रमण शुभ रहोस्, तर त्यसको परिणाम पनि मुलुकका लागि शुभ रहोस्।

अमेरिकाको आकाशतर्फ उड्दै गर्दा प्रधानमन्त्री शाहले एउटा कुरा भने बिर्सन नहुनेछ—विदेश भ्रमण प्रधानमन्त्रीको होइन, नेपालको हो; उपलब्धि पनि व्यक्तिको होइन, मुलुकको हुनुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan