Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

त्रिपुरेश्वर बस आगजनी : आत्मदाह बढ्दै जानुको ठूलो नैतिक प्रश्न

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज ७ बुधबार | छायाचन्द्र भण्डारी
newsabhiyan

एउटा चालकको मृत्युमा सकिँदैन यो कथा, समाजको विवेकमाथि उठेको प्रश्न हो

काठमाडौं, ७ असोज । त्रिपुरेश्वरमा बस आगजनी र त्यससँग जोडिएको आत्मदाहको दुःखद घटनाले एउटा चालकको ज्यान गयो। एउटा परिवारको सहारा ढल्यो।

एउटा सार्वजनिक यातायातको साधन खरानी भयो। घटनाको कानुनी पाटो छ, प्रहरीको भूमिकामाथि उठ्ने प्रश्न छन्, चालकको आचरण र जिम्मेवारीको प्रश्न छ। तर यतिमै यो कथा सकिँदैन।

यो घटना एउटा व्यक्तिको मृत्युको समाचार मात्र होइन। यो त हाम्रो समाजको नैतिक धरातल कति कमजोर हुँदै गएको छ? कानूनप्रतिको सम्मान कहाँ पुग्यो? अधिकार र कर्तव्यबीचको सन्तुलन किन हराउँदैछ?

असहमतिको भाषा संवादबाट आगो र आत्मदाहसम्म किन पुग्दैछ? भन्ने गम्भीर प्रश्न हो। कहिलेकाहीँ एउटा घटना आफैँमा ठूलो हुँदैन, तर त्यसले समाजभित्र लुकेका धेरै प्रश्नको ढोका खोलिदिन्छ। त्रिपुरेश्वरको घटनाले त्यही ढोका खोलेको छ।

लाइसेन्सको प्रश्नदेखि आगोको ज्वालासम्म
सवारी चलाउनु अधिकार मात्र होइन, जिम्मेवारी पनि हो। लाइसेन्स भनेको कागजको एउटा टुक्रा होइन; त्यो राज्यले दिएको सार्वजनिक विश्वास हो। चालकले आफ्नो मात्र जीवन चलाइरहेको हुँदैन, उसको हातमा यात्रु, पैदलयात्री र सडकमा हिँडिरहेका असंख्य मानिसको जीवन जोडिएको हुन्छ।

त्यसैले लाइसेन्ससम्बन्धी गम्भीर अनियमितता, अरूको कागजातको दुरुपयोग वा विगतमा भएका विवादबारे तथ्य छन् भने त्यसको कानुनी परीक्षण हुनैपर्छ। कानूनको ठाउँमा ‘हिरोगिरी’ चल्दैन।

“लाइसेन्स नो, गाडी गो”, “ट्राफिक रुल के भो?” भन्ने मानसिकता यदि कसैमा विकास हुन्छ भने त्यो केवल एउटा चालकको समस्या होइन, सार्वजनिक अनुशासनमाथिको चुनौती हो।

गल्ती भयो भने स्वीकार गर्ने संस्कार हराउँदै जाने, नियम सम्झाउँदा उल्टै पाखुरा सुर्किने, कारबाहीको सामना गर्नुभन्दा शक्ति प्रदर्शन रोज्ने र अन्ततः आफ्नै साधनमा आगो लगाएर आफू पनि त्यसै आगोमा होमिने प्रवृत्ति कुनै पनि कोणबाट सामान्य होइन।

आगोले गल्ती जलाउँदैन, प्रमाण पनि जलाउन सक्छ; तर सत्यलाई जलाउन सक्दैन। कानूनबाट भागेर समस्या समाधान हुँदैन। बरु समस्या अर्को ठूलो समस्यामा बदलिन्छ।

प्रहरी : नागरिक गलत भए पनि व्यावसायिकता अनिवार्य
अब प्रश्न प्रहरीतर्फ पनि आउँछ। नागरिक गलत भएको अवस्थामा पनि प्रहरीको कर्तव्य समाप्त हुँदैन। बरु त्यही अवस्थामा प्रहरीको व्यावसायिकता, संयमता र शिष्टता अझ बढी परीक्षण हुन्छ।

प्रहरी राज्यको शक्ति हो। तर त्यो शक्ति अनुशासन, कानून र मर्यादाको सीमाभित्र प्रयोग हुने शक्ति हो।

कसैले ट्राफिक नियम उल्लंघन गर्यो  भन्दैमा प्रहरीलाई अपमानजनक व्यवहार गर्ने छुट छैन। त्यसैगरी नागरिक गलत भयो भन्दैमा प्रहरीलाई पनि असंयमित हुने छुट हुँदैन।

यस घटनामा प्रहरीको तर्फबाट कर्तव्य, व्यवहार वा प्रक्रियामा कुनै त्रुटि भयो कि भएन भन्ने विषय निष्पक्ष छानबिनबाट स्पष्ट हुनुपर्छ। अनुमानका आधारमा प्रहरीलाई दोषी ठहर गर्नु पनि गलत हो, अनुसन्धानबिनै निर्दोष घोषणा गर्नु पनि।

राज्य संयन्त्रको विश्वसनीयता भावनाले होइन, तथ्यले बलियो हुन्छ।कानून को डन्डा बलियो हुनुपर्छ, तर विवेकको हातमा।

समाज : अधिकार मेरो, कर्तव्य तेरो !
हाम्रो सामाजिक चरित्रमा एउटा विचित्र रोग बढिरहेको छ—अधिकार मेरो, कर्तव्य तेरो। सुविधा मेरो, जिम्मेवारी तेरो। उपभोग मेरो, मूल्य तेरो। गल्ती मेरो, सजाय अरूको।

हामी सडक राम्रो चाहन्छौँ, तर ट्राफिक नियम मान्न चाहँदैनौँ।

हामी सार्वजनिक सेवा प्रभावकारी चाहन्छौँ, तर सार्वजनिक सम्पत्तिको संरक्षणलाई आफ्नो कर्तव्य ठान्दैनौँ।

हामी अरूबाट नैतिकता खोज्छौँ, तर ऐनामा आफ्नो अनुहार हेर्न हिच्किचाउँछौँ।

हामी भ्रष्टाचारको विरोध गर्छौँ, तर आफ्नो काम छिटो गराउन बिचौलियाको ढोका ढकढक्याउँछौँ।

हामी अनुशासनको भाषण गर्छौँ, तर आफूलाई नियम लाग्दा नियमलाई नै दोष दिन्छौँ।

यो कस्तो समाज बनाउँदैछौँ हामी? ‘अरूको आङको जुम्रा देख्ने, आफ्नो आङको भैंसी नदेख्ने’ प्रवृत्ति अब सामाजिक संस्कारजस्तै बन्न थालेको हो कि? त्रिपुरेश्वरको आगोले एउटा बस मात्र जलाएको छैन।

यसले हामीभित्रको एउटा प्रश्न पनि सल्काएको छ—हामी आफैँ कति जिम्मेवार छौँ? आत्मदाह : विरोधको भाषा कि निराशाको चरम अभिव्यक्ति? आत्मदाह सामान्य विरोध होइन। यो अत्यन्त गम्भीर र दुःखद अवस्था हो।

कुनै व्यक्ति आफूलाई नै आगो लगाउने अवस्थासम्म पुग्छ भने त्यसको पछाडि व्यक्तिगत, सामाजिक, आर्थिक, कानुनी वा अन्य अनेक कारण हुन सक्छन्। त्यसैले एउटा घटनालाई आधार बनाएर सबै आत्मदाहका घटनाको एउटै कारण निर्धारण गर्नु उचित हुँदैन।

तर आत्मदाहका घटना दोहोरिँदै गए भने समाजले एउटा असहज प्रश्न सोध्नैपर्छ—मानिसहरू आफ्ना समस्या समाधानका लागि संस्थागत बाटोमाथिको विश्वास गुमाउँदै त गएका छैनन्?

अदालत छ। प्रशासन छ। प्रहरी छ। स्थानीय सरकार छ। राजनीतिक नेतृत्व छ। सञ्चारमाध्यम छन्। सामाजिक संस्था छन्।

तर यदि नागरिकले यी सबै बाटा छोडेर आफ्नो शरीरलाई नै विरोधको अन्तिम माध्यम ठान्न थाल्छ भने त्यो केवल व्यक्तिको त्रासदी होइन, संस्थागत संवेदनशीलतामाथिको प्रश्न पनि हो।

तर यहाँ एउटा अर्को खतरा पनि छ—आत्मदाहलाई ‘वीरता’ वा ‘नायकत्व’को रूपमा चित्रण गर्ने। आत्मदाह समाधान होइन। मृत्यु कुनै विचारको प्रमाणपत्र होइन। आगो कुनै मागको वैधानिकता होइन।

यस्ता घटनाको समाचार सम्प्रेषण गर्दा पनि सञ्चारमाध्यम र सामाजिक सञ्जालले संवेदनशीलता, तथ्य र जिम्मेवारीको सीमा नाघ्नु हुँदैन।

सामाजिक सञ्जाल : तथ्यभन्दा अगाडि फैसला
आज सामाजिक सञ्जालमा अदालत बस्छ, न्यायाधीश पनि हामी आफैँ, अभियुक्त पनि हामी आफैँ र फैसला पनि केही मिनेटमै।

कुनै भिडियो आयो—फैसला भयो। कसैले एउटा स्टाटस लेख्यो—दोषी तोकियो। कुनै पक्षको भनाइ आयो—अर्को पक्षको आवाज सुन्नुअघि नै चरित्रहत्या सुरु भयो। तथ्य नबुझ्दै निर्णय, सत्य नभेट्दै फैसला। यो प्रवृत्ति लोकतान्त्रिक अभिव्यक्ति स्वतन्त्रताको स्वस्थ अभ्यास होइन।

अभिव्यक्ति स्वतन्त्रता भनेको अरूको चरित्रमा हिलो छ्याप्ने लाइसेन्स होइन। आलोचना लोकतन्त्रको प्राण हो, तर अपुष्ट आरोप लोकतन्त्रको सौन्दर्य होइन।

सामाजिक सञ्जाल अहिले सूचना प्रवाहको शक्तिशाली माध्यम हो। तर त्यही शक्ति विवेकविहीन भयो भने सूचना होइन, अफवाहको आँधी बन्छ।

चरित्रहत्या, उत्तेजना र नकारात्मकताको फोहोरमा अभिव्यक्तिको स्वतन्त्रता हुर्किन थाल्यो भने समाजले सत्य होइन, सनसनी रोज्न थाल्छ।

परिवार र विद्यालयले सिकाउनुपर्ने पाठ
नैतिकता किताबको एउटा अध्याय होइन। यो व्यवहारको संस्कार हो। घरमा बच्चाले के सिक्छ? गल्ती गर्दा स्वीकार गर्ने कि बहाना बनाउने? नियम मान्ने कि शक्ति देखाउने? अरूको सम्मान गर्ने कि अपमानलाई मनोरञ्जन बनाउने? विद्यालयले के सिकाउँछ? अंक मात्र कि चरित्र पनि? प्रतिस्पर्धा मात्र कि सहकार्य पनि? अधिकार मात्र कि कर्तव्य पनि? आजको पुस्तालाई प्रविधि सिकाउनु आवश्यक छ, तर प्रविधिभन्दा पहिले विवेक सिकाउनुपर्छ।

ड्राइभिङ लाइसेन्स लिनुअघि सडकको नियम सिकिन्छ। तर जीवन चलाउनका लागि आवश्यक सामाजिक नियम, नैतिक अनुशासन र जिम्मेवारीबोध कसले सिकाउने? परिवार, विद्यालय, समाज र राज्य—सबैको साझा दायित्व हो।

सरकार : कानून मात्र होइन, विश्वास पनि चाहिन्छ
सरकारले कानून बनाउने मात्र होइन, कानूनप्रति नागरिकको विश्वास पनि निर्माण गर्नुपर्छ। जहाँ गल्ती हुन्छ, त्यहाँ छानबिन हुनुपर्छ।

जहाँ प्रहरीको त्रुटि हुन्छ, त्यहाँ प्रहरीमाथि पनि छानबिन हुनुपर्छ। जहाँ नागरिकको गल्ती हुन्छ, त्यहाँ नागरिकलाई पनि कानूनअनुसार जवाफदेही बनाउनुपर्छ।

कानून सबैका लागि बराबर भयो भने मात्र विधिको शासन बलियो हुन्छ। राज्य शक्तिशाली भएर मात्र पुग्दैन; राज्य निष्पक्ष देखिनुपर्छ। नागरिक अनुशासित भएर मात्र पुग्दैन; राज्य पनि उत्तरदायी देखिनुपर्छ। यही सन्तुलन लोकतन्त्रको आधार हो।

अब प्रश्न अरूलाई मात्र होइन, आफैँलाई पनि
त्रिपुरेश्वरको घटनापछि हामीले धेरै प्रश्न सोध्न सक्छौँ। चालक किन यस्तो अवस्थामा पुगे? प्रहरीले के गर्योस? कानुनी प्रक्रिया के थियो? कहाँ त्रुटि भयो? कसको जिम्मेवारी थियो? यी सबै प्रश्न आवश्यक छन्। तर एउटा प्रश्न अझ ठूलो छ— म आफैँ कति जिम्मेवार छु? म ट्राफिक नियम मान्छु? म अपुष्ट सूचना शेयर गर्छु? म कसैको चरित्रमाथि तथ्यबिनै टिप्पणी गर्छु? म आफ्नो गल्ती स्वीकार गर्छु? म अधिकारसँगै कर्तव्य पनि सम्झन्छु? म समस्या पर्दा कानूनको बाटो रोज्छु कि भीडको? यही प्रश्नबाट परिवर्तन सुरु हुन्छ।

किनकि समाज कुनै अमूर्त वस्तु होइन। समाज भनेको हामी नै हौँ। हामीले बनाएको व्यवहार नै सामाजिक संस्कार हो। हामीले रोजेको भाषा नै सार्वजनिक संवाद हो। हामीले मान्ने नियम नै सामाजिक अनुशासन हो।

त्रिपुरेश्वरमा आगो लागेको थियो। तर त्यस आगोको ताप केवल सडकमा सीमित हुनु हुँदैन। त्यसले हाम्रो विवेकलाई पनि तताउनुपर्छ।

एउटा चालकको मृत्युमा आँसु बगाएर, केही दिन सामाजिक सञ्जालमा बहस गरेर र त्यसपछि अर्को घटनातिर दौडिएर मात्र यो अध्याय बन्द गर्नु हुँदैन।

बस जलेर खरानी भयो, मानिस जलेर खरानी भए—तर प्रश्न अझै जीवित छ। कानूनको सम्मान गर्ने कि भीडको फैसला मान्ने? कर्तव्य निभाउने कि अधिकारको मात्र गीत गाउने? तथ्य खोज्ने कि अफवाह पछ्याउने?
गल्ती स्वीकार गर्ने कि आगो रोज्ने? समाजलाई दोष दिने कि ऐनामा आफूलाई हेर्ने? अब रोजाइ हाम्रो हो।

किनकि आगो निभाउन दमकल चाहिन्छ, तर समाजभित्र सल्किएको आगो निभाउन विवेक चाहिन्छ। र विवेक कमजोर भयो भने—कानूनको किताब हातमै भए पनि समाज दिशाहीन हुन सक्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan