बाढी–पहिरोपछि पूर्वाधार पुनःस्थापनामा सरकारको तीव्रता, १२५ स्थानका सडक सञ्चालनमा
काठमाडौँ । अविरल वर्षाका कारण प्रभावित नागरिकको सुरक्षित व्यवस्थापनसँगै क्षति पुगेका पूर्वाधार मर्मत गरी जनजीवनलाई सामान्य अवस्थामा फर्काउन सरकारले तीव्रता दिएको छ।
असोज ८ गतेदेखि वर्षासँगै आएको बाढी, पहिरो, डुबान, हावाहुरी र चट्याङका घटनामा देशभर २७ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। चार जना अझै सम्पर्कविहीन रहेको जनाइएको छ। यस अवधिमा भएका ५१३ वटा मनसुनजन्य घटनाबाट १ हजार ६५ परिवार प्रभावित भएका छन्।
बाढी–पहिरोका कारण देशभरका विभिन्न राजमार्ग तथा सडकखण्डका १४७ स्थानमा क्षति पुगेको थियो। सरकारले आफ्ना संयन्त्र परिचालन गरी तीमध्ये १२५ स्थानको मर्मत सम्पन्न गरेर सडक सञ्चालनमा ल्याइसकेको छ। बाँकी क्षतिग्रस्त सडकखण्डको मर्मतसमेत शीघ्र सम्पन्न गर्ने तयारी भइरहेको छ।
त्यस्तै, बाढीका कारण कालीगण्डकी, मर्स्याङ्दी र सेती–मादी कोरिडोरलगायतका राष्ट्रिय प्रसारण लाइनबाट १ हजार १३.२ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको थियो। हाल सेती–मादी कोरिडोरमा रहेका २६२ मेगावाट तथा मर्स्याङ्दी कोरिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र सञ्चालनमा आइसकेका छन्। बाँकी प्रभावित संरचनाको मर्मत कार्य पनि भइरहेको छ।
बाढी–पहिरोबाट प्रभावित दूरसञ्चार सेवा पुनः सञ्चालनमा ल्याउने कामसमेत अघि बढाइएको छ। नेपाल टेलिकमका १ हजार १३२ वटा टावरको नेटवर्क विच्छेद भएकामा ७८२ वटा सञ्चालनमा ल्याइएको छ। त्यस्तै, एनसेलका १६२ वटा नेटवर्क विच्छेद भएकामा १०५ वटा मर्मत गरी सेवा सञ्चालनमा ल्याइएको छ।
सरकारले बाढी–पहिरो प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी सम्बन्धित स्थानीय तहसँगको समन्वयमा राहत तथा अस्थायी बसोबासको व्यवस्था मिलाएको जनाएको छ।
सरकारले प्रभावित क्षेत्रमा सडक, विद्युत्, दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधारको मर्मत तथा पुनःस्थापनालाई तीव्रता दिँदै जनजीवनलाई क्रमशः सामान्य अवस्थामा फर्काउने कामलाई प्राथमिकतामा राखेको छ।
