Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १२ सोमबार | (रासस)

म्याग्दी, १२ असोजः यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात् र बाढीपहिरोका कारण म्याग्दीका २०० परिवार विस्थापित भएका छन् । सदरमुकाम बेनीबाट ग्रामीण क्षेत्र जोड्ने सडक अवरुद्ध बनेका, स्थानीय तहसँग सञ्चार, यातायात र विद्युत् सम्पर्क विच्छेद भएकाले विवरण सङ्कलन कार्यमा ढिलाइ भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

    म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेश गैरेले बाढीपहिराले आजसम्म २०० परिवार विस्थापित भएका जानकारी दिँदै विवरण सङ्कलनका लागि सुरक्षा निकाय र स्थानीय तहलाई परिचालन गरेको बताउनुभयो । “पहिलो चरणमा पहिरोमा मृत्यु भएका र बेपत्ताको खोजी, फसेकाको उद्धारमा केन्द्रित भएका छौँ”, उहाँले भन्नुभयो, “सञ्चार पहुँच नभएका ठाउँमा क्षतिको विवरण सङ्कलनका लागि सबै स्थानीय तहमा जनशक्ति परिचालन गरेका छौँ ।”

    सडक यातायातको सम्पर्क टुटेकाले प्रभावित क्षेत्रमा उद्धार र राहतका लागि नेपाली सेनाको हेलिकप्टर परिचालन भएको छ । पहिरोबाट छ जनाको मृत्यु र तीन जना बेपत्ता रहेका जानकारी दिनुभयो । पहिरोबाट विस्थापित र जोखिममा रहेका घरपरिवारलाई सुरक्षित ठाउँमा आश्रयस्थल बनाएर राखिएको प्रजिअ गैरेले जानकारी दिनुभयो ।

    सबैभन्दा बढी पहिरोबाट प्रभावित भएको अन्नपूर्ण गाउँपालिका-५ पाउद्धारका ७८ जनालाई घार र शिखमा अस्थायी शिविर बनाएर राखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार पहिरोमा बेपत्ता भएकी बेनी नगरपालिका-३ छेपारेकी कुमारी वली विक, अन्नपूर्ण गाउँपालिका-८ काफलडाडाँका मनोज गर्बुजा र अन्नपूर्ण-५ का ७५ वर्षीय ओमबहादुर तिलिजाको खोजी जारी छ । 

    अन्नपूर्ण-३ की शिलकुमारी पाइजा, योगमाया पाइजा, अन्नपूर्ण-८ का सविन गर्बुजा, मालिका गाउँपालिका-३ का चिरन पुन, देवबहादुर पुन र अन्नपूर्ण-५ की जेनी पुर्जाको शव भेटिएको जनाउँदै प्रजिअ गैरेले पहिरोका कारण अवरुद्ध बनेको बेनी-बागलुङ सडकआंशिक रूपमा सञ्चालनमा आएको बताउनुभयो । 

    सडक डिभिजन कार्यालय बागलुङले हलुका सवारीसाधन सञ्चालन गर्ने गरी बागलुङ-बेनी सडकको भसभसे, खबरा क्षेत्रमा मर्मत गरेको जिल्ला समन्वय समितिका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले बताउनुभयो । 

    गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालयमार्फत बेनी-दरवाङ सडकको बेनी-तातोपानी खण्डमा एकतर्फी यातायात सञ्चालन गर्न मिल्ने गरी मर्मत गरेको छ । दरवाङतर्फबाट पनि सडक मर्मत थालिएको जानकारी दिँदै गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले मङ्गलबारदेखि फापरखेतको पहिरोमा पनि सडक मर्मतको काम सुरु गरिने बताउनुभयो । 

    म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका हुँदै मुस्ताङको कोरलानाका जोड्ने बेनी-जोमसोम-कोरला सडकको मुस्ताङ र बेनीतर्फबाट मर्मत थालिएको छ । बेनीदेखि गलेश्वरसम्म मङ्गलबार सडक खुलेको छ । बेनी र आसपासका क्षेत्रमा मात्र सञ्चालन भएको सञ्चार र विद्युत् सेवालाई सबैतिर निरन्तरता दिन नेपाल टेलिकम र विद्युत् प्राधिकरणमार्फत मर्मतको काम भइरहेको प्रजिअ गैरेले बताउनुभयो । बेनी बजारमा वैकल्पिक मुहानबाट खानेपानी आपूर्ति गराउन सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan