Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मनाङ पुगेका पर्यटक फर्किन थाले

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १३ मंगलबार | रासस

 लमजुङ, १३ असोजः अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै मनाङ पुगेका विदेशी पर्यटक निरन्तरको वर्षासँगै मौसम प्रतिकूल बनेपछि बीच बाटोबाटै यात्रा छोट्याएर लमजुङतर्फ फर्किन थालेका छन् ।

    थोराङ्ला भञ्ज्याङ पार गर्दै मुस्ताङ, पोखरालगायत गन्तव्यमा पुग्ने योजनामा आएका पर्यटक मौसममा आएको खराबी र बढ्दो जोखिमका कारण मनाङबाटै फर्किन थालेका हुन् । 

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), धारापानीका इन्चार्ज भूपेन्द्र गुरुङका अनुसार पछिल्लो एक सातामा २४६  विदेशी पर्यटक मनाङबाट लमजुङतर्फ फर्किएका छन् । फर्किनेमा १५१ पुरुष र ९५ महिला रहेका छन् । यही असोज ६ गतेदेखि १२ गतेसम्म उक्त सङ्ख्यामा पर्यटक फर्किएका हुन् ।   

    केही दिनअघिसम्म धारापानी हुँदै दैनिक १०० देखि १५० सम्म विदेशी पर्यटक मनाङतर्फ जाने गरेका थिए । पछिल्लो समय मौसम प्रतिकूल बनेसँगै पर्यटकको आवागमन घटेको छ । अहिले एक–दुई जना पर्यटक मात्रै मनाङतर्फ जाने गरेका छन् भने अधिकांश पर्यटक लमजुङतर्फ फर्किन थालेका छन् । 
 
    “केही दिनअघिसम्म दैनिकजसो १०० देखि १५० सम्म पर्यटक मनाङतर्फ जाने गरेका थिए । अहिले एक–दुई जना मात्रै मनाङतर्फ गएको देखिन्छ, अधिकांश फर्किन थालेका छन्”, इन्चार्ज गुरुङले भन्नुभयो । 

    मौसममा आएको खराबी, निरन्तरको वर्षा तथा पदमार्गमा बढेको जोखिमका कारण थोराङ्ला भञ्ज्याङ हुँदै मुस्ताङलगायत गन्तव्यतर्फ जाने योजनामा रहेका पर्यटकले बीचबाटै यात्रा छोट्याउन थालेका हुन् । 

    लमजुङको बेँसीसहर नगरपालिका–७ बाट सुरु हुने अन्नपूर्ण चक्रीय पदमार्ग लमजुङ, मनाङ, मुस्ताङ, म्याग्दी र कास्की हुँदै जाने प्रमुख पदयात्रा मार्ग हो । यस पदमार्गको उच्चतम बिन्दु पाँच हजार ४१६ मिटरको थोराङ्ला भञ्ज्याङ हो । प्राकृतिक तथा सांस्कृतिक विविधताले भरिएको यस पदमार्गमा विदेशी पर्यटकको सधैँ आकर्षण रहँदै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan