Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखराको पर्यटकीय गन्तव्य पुम्दीभुम्दीको प्रवर्द्धनका लागि पर्वतीय दौड

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १७ शनिबार | (रासस)

कास्की, १७ असोजः पोखराको फेवातालपारी अवस्थित पोखरा–२२ पुम्दीभुम्दीको प्रवर्द्धन गर्ने उद्देश्यले यही असोज २४ गते पर्वतीय दौड हुने भएको छ । पुम्दी–भुम्दी क्षेत्रको प्राकृतिक, सांस्कृतिक तथा पर्यटकीय सम्भावनालाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा चिनाउने लक्ष्य राखिएको छ ।

    फेवातालसँग जोडिएको र धार्मिक तथा पर्यटकीय सम्भावना बोकेको पुम्दीभुम्दी पछाडि परेको भन्दै दौडका माध्यमबाट यस ठाउँको प्रचारप्रसार गर्ने उद्देश्य राखिएको छ । पुम्दीभुम्दी विशाल महादेवको मूर्ति, विश्व शान्ति स्तूपा तथा बुद्ध पार्कका कारणले पर्यटनका लागि प्रचुर सम्भावना रहे पनि ओझेलमा परेको भन्दै पोखरा प्रवर्द्धन केन्द्रले तीन वर्षदेखि दौड आयोजना गर्दै आएको छ ।

    पर्वतीय दौडका लागि हालसम्म १८ जिल्लाका ८० बढी धावकले नाम दर्ता गराइसकेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा केन्द्रका अध्यक्षसमेत रहनुभएका कार्यक्रम संयोजक दीननाथ बरालले जानकारी दिनुभयो । उहाँका अनुसार खेल पर्यटनमार्फत ग्रामीण पर्यटन र कृषि अर्थतन्त्रलाई जोड्ने उद्देश्य राखिएको हो ।

    “पोखरा आसपासका सम्भावित ग्रामीण पर्यटकीय गन्तव्यको पहिचान गरी बजार क्षेत्रमा आउने पर्यटकलाई ग्रामीण क्षेत्रसँग जोड्न पर्वतीय दौड प्रभावकारी माध्यम बन्ने अपेक्षा गरेका छौँ”, संयोजक बरालले भन्नुभयो ।

    विश्वशान्ति स्तूपबाट सुरु हुने दौड पुम्दीकोटस्थित विशाल महादेवको मूर्ति परिक्रमा गर्दै वडा कार्यालय, न्यालडाँडास्थित कालाबाङ घरेडी बुद्धपार्कमा पुगेर सम्पन्न हुनेछ । आयोजकका अनुसार आठ किलोमिटर दूरीको दौडमा खुला, वडास्तरीय खुला, महिला, यु–१६, विदेशी र भेट्रान्स गरी छ विधामा प्रतिस्पर्धा गराइनेछ ।

    प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले रु ५० हजार नगद पुरस्कार प्राप्त गर्ने भएका छन् । प्रतियोगितामा द्वितीय, तृतीय, चौथो र पाँचौँ हुनेले क्रमशः रु ३० हजार, रु १५ हजार, रु सात हजार र रु तीनहजार प्राप्त गर्नेछन् ।

    वडास्तरीय खुला, महिला र यू–१६ विधाका प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः रु १५ हजार, रु सात हजार र रु तीन हजारसहित हित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विदेशी धावकतर्फ विजेताले रु १५ हजार र उपविजेताले रु सात हजार तथा  भेट्रानतर्फ विजेताले रु १५ हजार र प्रमाणपत्र प्राप्त गर्नेछन् । 

    पोखरा–२२ का वडाध्यक्ष हिमलाल बरालले फेवातालसँगै जोडिएको भए पनि पुम्दीभुम्दी पछाडि परेको बताउनुभयो । लेकसाइडको तालपारि रहेको पुम्दी–भुम्दी क्षेत्रको खेल पर्यटन प्रवर्द्धनमा पर्वतीय दौडले महत्त्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ छ ।

    पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले पर्वतीय दौड प्रतियोगिता आयोजकको मात्र नभई पोखराका सम्पूर्ण पर्यटन व्यवसायीसमेतको अपनत्वको कार्यक्रम भएको बताउनुभयो ।     अन्तरराष्ट्रियस्तरमा नेपाललाई पदक दिलाएका धावक प्रतियोगितामा सहभागी भएको अवस्थामा आवश्यक आतिथ्य सेवा उपलब्ध गराउने जानकारी दिनुभयो । 

    खेलका माध्यमबाट पोखरा–२२ सहित समग्र पोखराका ग्रामीण क्षेत्रमा रहेको खेल पर्यटनको सम्भावना उजागर गर्न प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजक केन्द्रका उपाध्यक्ष असफल गौतमले बताउनुभयो । प्रतियोगितामा नेपाल पर्यटन बोर्ड र पोखरा महानगरपालिकाको प्रवर्द्धन, प्रदेश खेलकुद परिषद् गण्डकीको समन्वय तथा पोखरा महानगरपालिका–२२ को सहकार्य रहेको छ ।

    प्रतियोगिता सम्पन्न गर्न अनुमानित रु १८ लाख ९७ हजार  खर्च हुने केन्द्रका सचिव सागर सुनारले बताउनुभयो । प्रतियोगिताको प्रथम पुरस्कार अन्तरराष्ट्रिय म्याराथन धावक तथा सहारा युकेका पूर्वअध्यक्ष अवकाशप्राप्त लेफ्टिनेन्ट रिटायर्ड कुसाङकुमार गुरुङले प्रायोजन गर्नुभएको छ ।  
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan