‘अध्यक्ष विशेष छात्रवृत्ति कार्यक्रम’बाट विद्यार्थी लाभान्वित
महेन्द्रनगर, १३ असोज : आदिवासी जनजाति समुदायका ८३ प्रतिशत विद्यार्थी अध्ययनरत कञ्चनपुरको लालझाडी गाउँपालिकाले प्रदान गरेको ‘अध्यक्ष विशेष छात्रवृत्ति कार्यक्रम’बाट बर्सेनि धेरै विद्यार्थी लाभान्वित भएको पाइएको छ ।
तीन वर्षयता पालिकाले स्थायी बसोबास गर्ने उच्च शिक्षा, स्नातक र स्नाकोत्तर तह अध्ययनरत विद्यार्थीलाई अध्यक्ष विशेष छात्रवृत्ति कार्यक्रममार्फत छात्रवृत्ति रकम उपलब्ध गराउँदै आएको छ ।
गाउँपालिका शिक्षा शाखाका प्रमुख सिद्धराज भट्टले अध्यक्ष विशेष छात्रवृत्ति कार्यक्रमबाट बर्सेनि एक सयभन्दा बढी जेहेन्दार र विपन्न परिवारका विद्यार्थीले छात्रवृत्ति पाउँदै आएको जानकारी दिनुभयो ।
“हामीले पालिकामा छात्रवृत्तिका लागि आवेदन पेस गर्न सूचना जारी गर्छौँ”, शाखा प्रमुख भट्टले भन्नुभयो, “विद्यार्थीले दिएको आवेदनका आधारमा सबैलाई विनियोजित वजेट वितरण गरिरहेका छौँ ।”
उहाँले आवेदन दिने प्राविधिक शिक्षा अध्ययरत विद्यार्थीलाई रु साढे १२ हजारदेखि १५ हजार र साधारण अध्ययनरत विद्यार्थीलाई रु दुई हजार पाँच सयदेखि रु तीन हजार प्रतिविद्यार्थीका लागि उपलब्ध गराउँदै आएको जानकारी दिनुभयो ।
प्रत्येक वर्ष पालिकाले सो कार्यक्रमअन्र्तगत रु पाँच लाख बजेट विनियोजन गर्दै आएको छ । उहाँले भन्नुभयो, “थोरै भए पनि पालिकासँगको समन्वयमा अध्ययनका लागि छात्रवृत्ति पाउने विषयले विद्यार्थीलाई प्रोत्साहन मिलिरहेको छ ।”
स्वीकृत वार्षिक बजेट कार्यक्रमअनुसार तीन वर्षदेखि छात्रवृत्ति रकम वितरण गर्दै आएको छ । पालिकाले चालु आर्थिक वर्षका लागि पनि उक्त कार्यक्रमका लागि बजेट विनियोजन गरिएको पालिकाका अध्यक्ष निर्मल रानाले बताउनुभयो ।
अध्यक्ष रानाले भन्नुभयो, “शिक्षामा सबैको पहुँच होस् भनी कार्यक्रम लागू गरिएको हो ।” सोह्र सामुदायिक विद्यालय र नौ संस्थागन गरी २५ विद्यालय रहेको उक्त पालिकाअन्तर्गतका विद्यालयमा करिब पाँच हजार विद्यार्थी अध्ययनरत रहेको पालिकाको शिक्षा शाखाले जनाएको छ ।
