Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मेकाडेमिया नट खेतीमा किसानको आकर्षण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १७ शनिबार | रासस

 भोजपुर, १७ असोजः बाँदरबाट क्षति कम हुने र बजारमा राम्रो मूल्य पाउने भएपछि जिल्लाका किसान मेकाडेमिया नट खेतीतर्फ आकर्षित हुन थालेका छन् । पछिल्लो समय किसानले यसको व्यावसायिक खेती विस्तार गर्न थालेका हुन् ।

    षडानन्द नगरपालिका–१ नेपालेडाँडाका किसान जीवन थापाले विसं २०७६ देखि व्यावसायिकरूपमा मेकाडेमिया नट खेती गर्दै आउनुभएको छ । उहाँले पोखराबाट बिरुवा ल्याएर आफ्नो क्षेत्रमा करिब दुई हजार बोट मेकाडेमिया नट खेती विस्तार गर्नुभएको छ ।

    मेकाडेमिया नटको बोटमा काँडा हुने तथा फलको बोक्रा कडा हुने भएकाले अन्य कृषि उपजको तुलनामा बाँदरबाट कम क्षति हुने थापाको भनाइ छ । बाँदरको प्रकोप रहेका पहाडी क्षेत्रमा यसको खेती गर्दा उत्पादन जोगाउन सहज हुने उहाँले बताउनुभयो ।

    थापाले गत वर्ष प्रतिकिलो रु दुई हजारका दरले करिब १५० किलोग्राम मेकाडेमिया नट बिक्री गर्नुभएको थियो । मेकाडेमियाको दाना छुट्याएर गुदी मात्र बिक्री गर्दा प्रतिकिलो रु पाँच हजारसम्म मूल्य प्राप्त हुने उहाँले बताउनुभयो । आफूले विस्तार गरेको बिरुवाले तीन वर्षदेखि फल दिन थालेको उहाँले जानकारी दिनुभयो ।

    “मैले दुई हजार बोट मेकाडेमिया नट खेती गरेको छु”, थापाले भन्नुभयो, “यो वर्ष पनि फल टिप्ने, केलाउने काम भइरहेको छ । तर, असिनाले क्षति गरेकाले उत्पादन केही घट्ने अवस्था छ ।”

    गाउँघरमा कृषि क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव रहेको थापाले बताउनुभयो । बजारमा यसको माग बढ्दै गए पनि हाल उत्पादनले बजारको माग धान्न सक्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

    कृषि प्राविधिकका अनुसार समुद्री सतहबाट करिब १०० मिटरदेखि एक हजार ८०० मिटरसम्मको उचाइमा मेकाडेमिया नट खेती गर्न सकिने थापाले बताउनुभयो । भोजपुरको भौगोलिक अवस्था र हावापानीका कारण विभिन्न क्षेत्रमा यसको खेती विस्तार गर्न सकिने सम्भावना रहेको उहाँको भनाइ छ ।

    मेकाडेमिया नट किसानका लागि राम्रो आम्दानीको स्रोत बन्न सक्ने देखिएपछि यसको खेती विस्तारमा जोड दिइएको टेम्केमैयुङ गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताउनुभयो । गाउँपालिकाले किसानलाई नमूनाका रूपमा गत वर्ष ४०० बोट बिरुवा निःशुल्क वितरण गरेको उहाँले जानकारी दिनुभयो ।

    किसानबाट माग आएमा यस वर्ष पनि मेकाडेमिया नटको बिरुवा वितरण गर्ने योजना रहेको अध्यक्ष बस्नेतले बताउनुभयो । अन्तरराष्ट्रिय बजारमा ‘ड्राइ फ्रुट’का रूपमा यसको माग रहेकाले यसको व्यावसायिक सम्भावना राम्रो रहेको उहाँको भनाइ छ ।

    “मेकाडेमिया नट खेतीबाट राम्रो आम्दानी हुने देखिएको छ”, अध्यक्ष बस्नेतले भन्नुभयो, “मैले पनि विभिन्न ठाउँमा यसको खेती गरिएको क्षेत्रको अवलोकन गरेको छु । यसको खेती विस्तार गर्ने सोच बनाएका छौँ । यो बालीलाई बाँदरले पनि कम क्षति पु¥याउने देखिएको छ ।”

    पौवादुङमा गाउँपालिका–३ का युवा किसान करण राईले पनि मेकाडेमिया नट किसानका लागि लाभदायक बाली बन्न सक्ने बताउनुभयो । उहाँले परीक्षणका रूपमा लगाएका मेकाडेमियाका बोटले फल दिन थालेको जानकारी दिनुभयो । “परीक्षणका रूपमा लगाएको बोटले फल दिन थालेको छ”, राईले भन्नुभयो, “व्यावसायिक रूपमा खेती गर्न सके यसको बजार राम्रो हुने देखिन्छ ।”

    मेकाडेमिया नट खेतीबाट उत्पादन लिन केही वर्ष लाग्ने भए पनि फल दिन थालेपछि लामो समयसम्म उत्पादन लिन सकिने किसान बताउँछन् । बाँदरको क्षति कम हुने, बजारमा राम्रो मूल्य पाउने तथा अन्तरराष्ट्रिय बजारमासमेत माग रहेको कारण यसलाई दीर्घकालीन आम्दानीको स्रोतका रूपमा किसानले लिन थालेका छन् ।

    जिल्लाका विभिन्न क्षेत्रमा मेकाडेमिया नटको परीक्षण तथा व्यावसायिक खेती विस्तार हुन थालेसँगै यसको खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ । स्थानीय तहले बिरुवा वितरण तथा खेती विस्तारमा प्रोत्साहन गर्न थालेपछि आगामी दिनमा यसको क्षेत्र विस्तार हुने देखिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan