बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित
बागलुङ, १७ असोजः बागलुङको निसीखोला गाउँपालिका-४ को झिवाखोलास्थित लिटिल रोज इङ्लिस बोर्डिङ स्कुलमा अध्ययनरत सन्दीप रेग्मी बाढीपछि विद्यालय जान सकेका छैनन् । यही असोज ११ गते निसीखोलामा आएको बाढीले बगर बनाएको आफ्नो घर भएको स्थान हेरेर टोलाइरहेका सन्दीपमा देखिएको यो अन्योल यतिबेला बागलुङका हजारौँ विद्यार्थीमा देखिएको छ । उनको न त घर छ, न त कापी-कलम र किताब नै । विद्यालय पनि बाढीले क्षति पुर्याएको छ ।
आँखैअगाडि घर, विद्यालय, सडक र विभिन्न संरचना बाढीले बगाएको, पहिरोले पुरेको देखेका यहाँका बालबालिकामा अझै पनि खोला बढ्छ कि, पहिरो खस्छ कि भन्ने त्रास कायमै छ । यही असोज ८ गतेदेखि ११ गतेसम्म आएको वर्षाका कारण बागलुङका चार स्थानीय तहका एक हजारभन्दा बढी बालबालिका प्रभावित भएका छन् ।
बागलुङको निसीखोला गाउँपालिकामा बाढी तथा बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका र ताराखोला गाउँपालिकामा पहिरोका कारण एक हजार २९७ जना बालबालिका प्रभावित भएका ताराखोला गाउँपालिकाका सहायक शिक्षा अधिकृत युवराज शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोबाट ताराखोलाका पाँच विद्यालयमा क्षति पुग्दा ८४५ जना बालबालिका प्रभावित भएका छन् ।
पहिरोका कारण ताराखोला-५ का तीनवटा र वडा नं ४ का दुई वटा विद्यालयका भौतिक संरचनामा क्षति पुगेको शिक्षा अधिकृत शर्माले जानकारी दिनुभयो । दुई सय ५० जना बालबालिकाले अध्ययन गर्दै आएका वडा नं ५ को दुर्गाभवानी माध्यमिक विद्यालयको विज्ञान प्रयोगशाला पूर्ण रूपमा पहिरोमा पुरिएको छ भने अन्य संरचनामा समेत क्षति पुगेको छ ।
त्यसैगरी सोही वडाका ७५ जना बालबालिकाले अध्ययन गर्दै आएको त्रिशूली प्राथमिक विद्यालय र ४५ जना बालबालिकाले अध्ययन गर्दै आएको लावाङ प्राथमिक विद्यालयमा पहिरोले क्षति पुर्याएको छ । वडा नं ४ का ५५ बालबालिकाले अध्ययन गर्दै आएको युवावर्षा प्राथमिक विद्यालय र ४२० बालबालिकाले अध्ययन गर्दै आएको नेपाल माध्यमिक विद्यालयमा पहिरोले क्षति पुर्याएको शर्माको भनाइ छ ।
पहिरोले क्षति पुगेका पाँचमध्ये दुई विद्यालयमा वैकल्पिक स्थानको खोजी गरेर पठनपाठन सुरु गरिएको जनाउँदै नेपाल माध्यमिक विद्यालय, लावाङ प्राथमिक विद्यालय र दुर्गाभवानी माध्यमिक विद्यालयमा भने पठनपाठन सुरु गर्न नसकिएको शर्माले बताउनुभयो ।
त्यसैगरी बाढीका कारण निसीखोला गाउँपालिका–४ को झिवाखोलास्थित एउटै विद्यालयका ३७० बालबालिका प्रभावित बनेका छन् । बोहोरागाउँ लिटिल रोज इङ्लिस बोर्डिङ स्कुलमा निसीखोलामा आएको बाढीले क्षति पुर्याउँदा यहाँ अध्ययन गर्दै आएका बालबालिका प्रभावित बनेका विद्यालय व्यवस्थापन समितिका सदस्य मिलन हमालले जानकारी दिनुभयो ।
बाढीले विद्यालयको संरचनामा ठूलो क्षति पुर्याएको छ । बाढीका कारण क्षति पुगेको विद्यालयको भवन तत्काल सञ्चालनमा ल्याउन सकिने अवस्था नभए पनि वैकल्पिक व्यवस्थापन गरेर छिट्टै कक्षा सञ्चालन गरिने हमालले बताउनुभयो ।
हावाहुरी र पहिरोका कारण बडिगाड गाउँपालिकाका दुई विद्यालयका ७० बालबालिका प्रभावित भएका छन् । गाउँपालिकाको वडा नं ५ स्थित ३० बालबालिकाले अध्ययन गर्दै आएको भिरकटेराताल प्राथमिक विद्यालय र वडा नं ३ सिसाखानीका ४० बालबालिकाले अध्ययन गर्दै आएको कञ्चनादेवी प्राथमिक विद्यालयमा हावा र पहिरोले क्षति पुर्याएको छ । तत्कालका लागि बालबालिकालाई स्थानीय घर र सामुदायिक भवनमा व्यवस्थापन गरेर पठनपाठन गराउने तयारी गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख कुलराज घिमिरेले जानकारी दिनुभयो ।
पहिरोका कारण तमानखोला गाउँपालिकाको एक बालविकास केन्द्रमा पनि क्षति पुगेको छ । वडा नं ४ को सन्तर बालविकास केन्द्रको भवनमा पहिरोले क्षति पुर्याउँदा यहाँका ११ बालबालिका प्रभावित बनेका छन् । भवन अझै पनि पहिरोको जोखिममै रहेकाले बालबालिकालाई तत्काल उक्त स्थानमा लैजाने अवस्था नभएको गाउँपालिकाका विपद् व्यवस्थापनका स्रोत व्यक्ति मुना विश्वकर्माले बताउनुभयो ।
