Sunday 8th of November | २०८३ कार्तिक २२ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

युद्ध सुरु हुँदाको भन्दा इरानी सेना ‘अझ बलियो’ : सैन्य प्रवक्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ कार्तिक २१ शनिबार | रासस/एएफपी

इरानी सेनाले संयुक्त राज्य अमेरिका र इजरायलसँग युद्ध सुरु हुँदाको तुलनामा आफू अहिले अझ बलियो र बढी प्रेरित भएको जनाएको छ । इरानी सरकारी सञ्चारमाध्यमले शनिबार सैन्य प्रवक्तालाई उद्धृत गर्दै यस्तो जानकारी दिएका हुन् ।

    सरकारी समाचार संस्था इर्नाका अनुसार, सेनाका प्रवक्ता मोहम्मद अक्रामिनियाले प्रत्यक्ष सैन्य मुठभेडबाट अनुभव हासिल गरेपछि इरानी सशस्त्र बल अहिले पहिलेभन्दा बढी सतर्क र शक्तिशाली बनेको बताउनुभएको छ ।

    उहाँले भन्नुभयो, “इस्लामिक गणतन्त्रका सशस्त्र बल अहिले युद्ध सुरु हुँदाको अवस्थाभन्दा अझ बलिया भएका छन् । उनीहरूमा उच्च प्रेरणा, प्रतिबद्धता र आत्मविश्वास छ ।”

    फेब्रुअरीको अन्त्यतिर संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि व्यापक आक्रमण सुरु गरेपछि भड्किएको युद्ध महिनौँदेखि गतिरोधको अवस्थामा छ ।

    तेहरानले विश्वको कुल तेल खपतको करिब पाँच भागको एक भाग ढुवानी हुने ‘स्ट्रेट अफ होर्मुज’बाट हुने आवागमन सीमित पार्ने प्रयास गर्दै आएको छ ।
    
    अक्रामिनियाका अनुसार, उक्त रणनीतिक जलमार्गमा इरानी सशस्त्र बलको नियन्त्रण कायम छ । संयुक्त राज्य अमेरिकाले तेहरानका माग स्वीकार नगरेसम्म जलमार्ग बन्द रहने उहाँले बताउनुभयो ।

    उहाँले सर्वोच्च नेताको आदेशअनुसार इरानी सशस्त्र बलको जवाफ तत्काल र प्रभावकारी हुने तथा त्यसको कुनै भौगोलिक सीमा नहुने पनि बताउनुभयो ।

    यसै साता अमेरिकी सञ्चारमाध्यमहरूले होर्मुजमा अवस्थित इरानको केश्म टापुमा आक्रमण भएको खबर सार्वजनिक गरेका थिए । त्यसपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि नयाँ आक्रमण भएको पुष्टि गर्नुभएको थियो । 

    शनिबार स्थानीय समाचार संस्था तस्निमले केश्म टापुमा दुईवटा क्षेप्यास्त्र प्रहार भएको जनाएको छ । तर, त्यसबाट भएको क्षतिबारे आधिकारिक जानकारी सार्वजनिक भएको छैन । इरानी सरकारी टेलिभिजनले पनि उक्त टापुमा दुईवटा विस्फोट भएको जनाएको छ ।

    यसैबीच, इरानी सरकारी सञ्चारमाध्यमका अनुसार, इरानी सेनाले शनिबार बिहान आफ्नो हवाई प्रतिरक्षा प्रणालीले टापुमाथि उडिरहेको अमेरिकी ड्रोनलाई प्रहार गरी नष्ट गरेको जनाएको छ । यद्यपि, टापुमा भएको भनिएको आक्रमण र ड्रोन खसालिएको घटनाबीचको सम्बन्धबारे भने केही खुलाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan