अमेरिकामा नेपाली कांग्रेसको प्रवासी संगठनमा नयाँ नेतृत्वको दाबी, सभापतिमा टुकप्रसाद रेग्मीको उम्मेदवारी घोषणा
काठमाडौं । नेपाली कांग्रेसको प्रवासी संगठन नेपाली जनसम्पर्क समिति, अमेरिकाको सभापति पदका लागि टुकप्रसाद रेग्मीले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ।
अमेरिकामा रहेका नेपाली कांग्रेससम्बद्ध नेता तथा कार्यकर्ताबीच संगठनलाई थप प्रभावकारी, एकताबद्ध र लोकतान्त्रिक ढंगले अघि बढाउने प्रतिबद्धतासहित रेग्मीले सभापतिमा उम्मेदवारी घोषणा गर्नुभएको हो।
उम्मेदवारी घोषणा गर्दै रेग्मीले नेपाली जनसम्पर्क समितिलाई प्रवासी नेपालीको साझा राजनीतिक तथा सामाजिक मञ्चका रूपमा थप सुदृढ बनाउने बताउनुभएको छ। उहाँले संगठनभित्रको एकता, पारदर्शिता, विधिको शासन र कार्यकर्ताको सम्मानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
रेग्मीले अमेरिकामा रहेका नेपाली समुदायका समस्या तथा चासोलाई नेपाल सरकार र नेपाली कांग्रेसको सम्बन्धित तहसम्म प्रभावकारी रूपमा पुर्याउने तथा प्रवासी नेपालीको हितका विषयमा संस्थागत पहल गर्ने बताउनुभएको छ।
त्यस्तै, नयाँ पुस्तालाई संगठनमा आकर्षित गर्ने, युवाको सहभागिता बढाउने, नेपाली समुदायसँगको सम्बन्ध विस्तार गर्ने तथा अमेरिकाका विभिन्न राज्यमा रहेका जनसम्पर्क समितिका संरचनालाई थप व्यवस्थित र सक्रिय बनाउने उहाँको एजेन्डा रहेको जनाइएको छ।
उनले नेपाली कांग्रेसको लोकतान्त्रिक मूल्य, विचार र सिद्धान्तलाई प्रवासी नेपाली समुदायमा प्रभावकारी रूपमा स्थापित गर्न आफूले भूमिका निर्वाह गर्ने बताउनुभएको छ।
रेग्मीको उम्मेदवारी घोषणासँगै नेपाली जनसम्पर्क समिति अमेरिकाको आगामी नेतृत्व चयनलाई लिएर राजनीतिक सरगर्मी बढ्ने देखिएको छ। सभापति पदका आकांक्षीहरूबीच सहमति, प्रतिस्पर्धा र संगठनात्मक समीकरणले आगामी निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
प्रवासी नेपाली कांग्रेसको संगठनका रूपमा रहेको जनसम्पर्क समितिको नेतृत्व चयनलाई अमेरिकामा रहेका नेपाली कांग्रेस समर्थकहरूले चासोका साथ हेरेका छन्। रेग्मीको उम्मेदवारीले संगठनको आगामी नेतृत्व र एजेन्डाबारे थप बहस सिर्जना गर्ने देखिएको छ।
