अविरल मनसुनी वर्षाले म्यान्माका गाउँ र खेत डुबानमा
म्यान्मामा तीव्र मनसुन बाढीले गाउँ र धानका खेत डुबानमा परेका छन् । डुवानका कारण युद्धबाट पहिले नै विस्थापित भएका म्यान्मावासीहरू घर छाड्न बाध्य भएका एएफपीका त्यहाँस्थित एक संवाददाता र संयुक्त राष्ट्रसङ्घले जनाएका छन् ।
“हामीले भोगिरहेको पीडा यति पीडादायक छ कि म शब्दमा पनि व्यक्त गर्न सक्दिनँ,” केन्द्रीय सागाईङ क्षेत्रको वेटलेट नगरकी ५३ वर्षीया गाउँले चो मियन्तले भन्नुभयो ।
बर्षाले आएको बाढीका कारण उल्टिएको डुङ्गा छेउमा उभिएर एक पिडित स्थानीयले शुक्रबार एएफपीसँग भन्नुभयो, “मेरोे परिवार बढ्दो बाढीको पानीबाट भाग्न बाध्य भएको छ र मेरो अब आफ्नो भन्ने कुनै सम्पत्ति पनि बाँकी छैन”।
संयुक्त राष्ट्रसङ्घले शुक्रबार भनेको छ, “जुलाईदेखि सागाईङ, राखाइन, इरावदी र कोचिन राज्यहरूमा तीव्र मनसुन बाढीले अनुमानित तीन लाख ९० हजार मानिस प्रभावित भएका छन् भने तीमध्ये सागाईङमा मात्र दुई लाख ३० हजार रहेका छन् ।
संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय (ओसीएचए) ले यी सङ्ख्यामा म्यान्माको सन् २०२१ को सैन्य कूले निम्त्याएको गृहयुद्धबाट प्रभावित मानिसहरू पनि समावेश रहेको जानकारी गराएको छ।
वेटलेट नगरका अर्का स्थानीय यु सिन्तले भन्नुभयो, “त्यस क्षेत्रका केही युद्ध शरणार्थीहरू साना, अस्थायी आश्रयमा बस्थे जुन ‘पूरै डुबेका’ छन्।”
उहाँले भन्नुभयो, “उनीहरूले केही पनि बचाउन सकेनन्। यो साँच्चै भयानक छ।”
बाढीले धेरै मानिसहरूको जीविकोपार्जन गर्ने स्रोतलाई पनि ‘नष्ट’ गरेको उहाँले थप्नुभयो ।
उहाँले भन्नुभयो, “धानका बिऊ पहिले नै बगाइसकेको थियो । यस क्षेत्रमा अब धान रोप्न असम्भव छ।”
उहाँले भन्नुभयो, “हामी फेरि बीउ छरौँ भने पनि डुवानमा परेको जमिन अझै सफा भइसकेको छैन । कहिले बिऊ छने, कहिले उम्रिने र कहिले रोप्ने । यो सवै पिडितको चिन्ताको बिषय हो ।”
–आवश्यकताहरू झन् बढाउँदै–
म्यान्माको सामाजिक कल्याण, राहत तथा पुनर्वास मन्त्रालयले अगस्ट ११ सम्म सागाईङमा भारी वर्षा र नदीको बाढीले तीन हजार २२० घरपरिवारका ११ हजार ४०० भन्दा बढी मानिसलाई बाढी राहत केन्द्रहरूमा स्थानान्तरण गर्न बाध्य बनाएको बताएको छ ।
वेटलेटमा करिब १० वा १४ जना मात्र गाइवस्तुको रेखदेख गर्न वा उनीहरूलाई छोड्न नसकेर बसेका छन् । बस्ती पूरै खाली भएको छ।
उनीहरू आफ्नो घरको माथिल्लो तलामा टिनको छानामुनि बसिरहेका छन् र स्थानीय उद्धारकर्मीहरूले डुङ्गाबाट ल्याएको इन्स्ट्यान्ट नूडल्स र बोतलको पानीमा बाँच्दै छन्।
स्थानीयले घुँडासम्मको हिलो पानीमा उभिएर भने, “दाताहरू आउनुअघि हामीसँग विकल्प थिएन । बाढीको पानी लिएर उमालेर पिउनुपर्ने थियो।”
ओसीएचएका प्रवक्ता पियरे पेरोनले शुक्रबार एएफपीलाई भन्नुभयो, “संगठनसँग अहिलेसम्म भारी वर्षाबाट विस्थापित भएका मानिसहरूको सङ्ख्या एकीन भएको छैन।
“निरन्तर मनसुन वर्षा र धेरै प्रमुख नदीहरू खतराको स्तरमा वा माथि भएकाले, दुर्भाग्यवश हामी अनुमान गर्छौं कि बाढीको प्रभाव आगामी दिन र हप्तासम्म जारी रहनेछ,” उहाँले भन्नुभयो ।
“संयुक्त राष्ट्रसङ्घका साझेदारहरू सबैभन्दा कमजोरहरूलाई सहयोग गर्न सक्रिय भइरहेका छन्”, उहाँले भन्नुभयो, “घर, आश्रय, पूर्वाधार र खेतबारीमा बाढीले पु¥याएको क्षतिले विशेष गरी खाना, स्वास्थ्य सेवा, सुरक्षित पानी र जीविकोपार्जन सहयोगका लागि मानवीय आवश्यकताहरू झन् बढाएको छ।”
मौसमी मनसुनले किसानहरू निर्भर गर्ने वाली रोप्ने वर्षा ल्याए पनि जलवायु परिवर्तनले यस क्षेत्रमा यसलाई अझ अनियमित, अप्रत्याशित र घातक बनाउँदै गएपछि उनीहरूलाई चिन्ता बढेको छ।
