उपल्लो मुस्ताङको लोमान्थाङमा साहसिक घोडा दौड प्रतियोगिता सम्पन्न
मुस्ताङ, ३ भदौः उपल्लो मुस्ताङको लोमान्थाङमा मङ्गलबार साहसिक घोडा दौड प्रतियोगिता सम्पन्न भएको छ । समुद्री सतहको चार हजार मिटरको उचाइमा अवस्थित छ, उपल्लो मुस्ताङ ।
धार्मिक तथा सांस्कृतिक पर्व यार्तुङ पर्वको अवसरमा यहाँ हरेका वर्ष साहसिक घोडा दौड प्रतियोगिताको आयोजना गरिन्छ ।
संस्कृतिको संरक्षण तथा पुस्तान्तरण गर्ने उद्देश्यले आयोजित यार्तुङ पर्वलाई लोमान्थाङ गाउँपालिका र एक्याप लोमान्थाङले संयुक्त रुपमा आयोजना गरेका हुन् ।
यार्तुङ पर्वको दोस्रो दिनमा आयोजित साहसिक घोडा दौड प्रतियोगिताअन्तर्गत लामो दूरीको (बार्का) घोडा दौड र छोटो दूरीको कदम घोडा प्रतियोगिता आयोजना गरिएको थियो ।
प्रतियोगिताअन्तर्गत कदम घोडा दौड प्रतियोगितामा लोमान्थाङ गाउँपालिका–५ लोमान्थाङका ताम्ढीछिमी गुरुङको क्याम्बा नामक घोडा प्रथम हुँदै च्याम्पियन बनेको छ ।
उक्त घोडा लोमान्थाङका पेमा तेन्जिङ गुरुङले घोडचढी गर्नुभएको थियो । यसैगरी कदम घोडा प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र–३ छुसाङका कान्छा गुरुङको घोडा दोस्रो हुँदै उपविजेता बनेको छ ।
त्यस्तै, घरपझोङ गाउँपालिका–५ चिम्लेका कर्म गुरुङको घोडा तेश्रो भएको छ । कदम घोडा दौडमा दोस्रो हुने घोडा टसी नम्ग्यलले घोडचढी गर्नुभएको थियो । तेस्रो हुने घोडा टेकराज तामाङले घोडचढी गर्नुभएको हो ।
मुस्ताङी राजा जिग्मेसिङ्गे पलवर विष्टको प्रमुख आतिथ्यतामा आयोजना भएको कदम घोडा दौड प्रतियोगितामा चौध वटा घोडाहरुको सात वटा समूहमा प्रतिस्पर्धा भएको थियो ।
घोडाको गतिसँगै खुट्टाको चाल हेरेर मूल्याङ्कन गरिने यसप्रकारको प्रतियोगितालाई कदम घोडा दौड प्रतियोगिता भनिन्छ ।
लोमान्थाङ गाउँभित्रको बाटोमा आयोजना गरिएको प्रतियोगितामा मुस्ताङसहित मनाङ जिल्लाबाट समेत प्रतियोगितामा भाग लिन घोडाचढीहरु लोमान्थाङ आइपुगेका थिए । लोमान्थाङ गाउँको सिजुहरुको प्रतिनिधिले मूल्याङ्कन गर्नुभएको हो ।
कदम घोडा प्रतियोगितामा प्रथम स्थान हासिल गर्दे च्याम्पियन बनेको घोडा धनीले नगद रु दुई लाख ५० हजार पुरस्कार प्राप्त गरेको छ । दोस्रो र तेस्रो हुने घोडाले नगद दुई लाख र एक लाख ५० हजार पुरस्कार प्राप्त गर्नुभएको छ ।
यार्तुङ पर्वको अवसरमा आयोजित साहसिक लामो दूरीको बार्का घोडा दौड प्रतियोगितामा कास्की घान्द्रुकका विवेक मगर च्याम्पियन बनेका छन् । यसअघि चराङ यार्तुङमा समेत च्याम्पियन बनेका मगरको घोडाले अन्य १० वटा घोडालाई उछिन्दै च्याम्पियन बनेको हो ।
लोमान्थाङस्थित क्यारा क्षेत्रको करिब तीन किलोमिटर दुरीमा आयोजना गरिएको प्रतियोगितामा वारागुङ मुक्तिक्षेत्र–१ झारकोटका नम्डुल गुरुङको घोडा दोस्रो र तेश्रो भएको छ । नम्डुलको दोस्रो हुने घोडा इज्ज्वल सुनार र तेस्रो हुने घोडा अनिल सुनारले घोडचढी गर्नुभएको थिए ।
लामो दूरीको बार्का घोडा दौड प्रतियोगिताको च्याम्पियनले नगद रु एक लाख ५० हजार, दोस्रो हुनेले नगद रु एक लाख र तेस्रो हुने घोडाले नगद रु ५० हजार पुरस्कार प्राप्त गर्नुभएको थियो ।
कदम र बार्का घोडा दौड प्रतियोगिता विजेतालाई मुस्ताङी राजा जिग्मेसिङ्गे पलवर विष्टले नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
