Thursday 20th of August | २०८३ भदौ ४ बिहीबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एक दशकपछि ३१० परिवारले पाए जग्गाधनी पुर्जा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ४ बिहीबार | (रासस)

धनुषा, ४ भदौः नापनक्सा सम्पन्न भएको करिब एक दशकपछि धनुषाको मिथिला बिहारी नगरपालिका-३ का ३१० परिवारले जग्गाधनी पुर्जा प्राप्त गरेका छन् । गाउँ ब्लक (स्ववासी) जग्गाको आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा भएपछि नापी कार्यालयले आज उनीहरूलाई जग्गाधनी पुर्जा वितरण गरेको हो ।

    साबिक मिथलेश्वर महुवाही गाउँ विकास समितिले १ देखि ९ वडासम्म पर्ने गाउँ ब्लक जग्गाको नापनक्सा आर्थिक वर्ष २०७२/७३ मा सम्पन्न भएको थियो । नापनक्सा सम्पन्न भए पनि आवश्यक अभिलेख अद्यावधिक, दर्ता तथा अन्य कानुनी प्रक्रिया पूरा हुन नसक्दा स्थानीयवासी लामो समयदेखि जग्गाधनी पुर्जाबाट वञ्चित हुँदै आएका थिए ।

    नापी कार्यालयले नापनक्सा भइसकेका जग्गाको अभिलेख अद्यावधिक गरी दर्तासम्बन्धी प्रक्रिया अघि बढाएपछि ३१० थान जग्गाधनी पुर्जा वितरण गरिएको जनाएको छ । वर्षौंदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको औपचारिक स्वामित्वको प्रमाण पाएपछि स्थानीयवासीले खुसी व्यक्त गरेका छन् । पुर्जा प्राप्त भएपछि आफ्नो सम्पत्तिको स्वामित्व प्रमाणित गर्न सहज हुने तथा जग्गासम्बन्धी विभिन्न प्रशासनिक र आर्थिक कारोबार गर्न बाटो खुलेको स्थानीयको भनाइ छ ।

    नापी कार्यालयका प्रमुख उमेशकुमारले नापनक्सा सम्पन्न भएर पनि विभिन्न कारणले दर्ता प्रक्रिया अघि बढ्न नसकेका गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गाको समस्या समाधानलाई कार्यालयले प्राथमिकतामा राखेको बताउनुभयो । उहाँका अनुसार नापनक्सा सम्पन्न हुँदैमा जग्गाको स्वामित्व पूर्ण रूपमा स्थापित नहुने भएकाले त्यसपछि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ । 

    स्थानीयको सहभागिता, आवश्यक कागजात तथा अन्य प्रक्रिया पूरा हुँदै गएमा लामो समयदेखि बाँकी रहेका यस्ता विषयलाई क्रमशः टुङ्ग्याउँदै जग्गाधनी पुर्जा वितरण गरिने उहाँले बताउनुभयो । गाउँ ब्लक तथा स्ववासी प्रकृतिका जग्गा लामो समयदेखि स्थानीयले भोगचलन गर्दै आए पनि औपचारिक स्वामित्वको प्रमाण नहुँदा उनीहरू विभिन्न समस्या झेल्दै आएका थिए । 

    जग्गाधनी पुर्जा प्राप्त भएपछि सम्पत्तिको कानुनी अधिकार सुनिश्चित हुनाका साथै जग्गासम्बन्धी कारोबार तथा प्रशासनिक काममा पनि सहज हुने अपेक्षा गरिएको छ । नापी कार्यालयका अनुसार साबिक मिथलेश्वर महुवाही गाविसअन्तर्गत नाप नक्सा सम्पन्न भएका तथा हाल मिथिला बिहारी नगरपालिका-३ मा पर्ने गाउँ ब्लकका ३१० परिवारलाई पुर्जा वितरण गरिएको हो ।

    कार्यालयले धनुषाका अन्य क्षेत्रमा पनि नाप नक्सा सम्पन्न भएर दर्ता प्रक्रिया पूरा हुन बाँकी गाउँ ब्लक तथा स्ववासी जग्गाको विवरण अध्ययन गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ । यसबाट लामो समयदेखि जग्गाधनी पुर्जाको प्रतीक्षामा रहेका अन्य परिवारलाई पनि राहत पुग्ने अपेक्षा गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan