प्रधानन्यायाधीश डा शर्मा पोखरामा, उच्च र जिल्ला अदालतको निरीक्षण
गण्डकी, ५ भदौ : प्रधानन्यायाधीश डा मनोजकुमार शर्माले उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतको आज निरीक्षण तथा अनुगमन गर्नुभएको छ । उहाँले दुवै अदालतको निरीक्षणसँगै सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुभएको हो ।
प्रधानन्यायाधीश डा शर्माले गत वर्षको ‘जेन्जी’ आन्दोलनका क्रममा आगजनीमा परी क्षतिग्रस्त बनेका अदालत भवनको अवलोकनसमेत गर्नुभएको सर्वोच्च अदालतका उप–रजिष्ट्रार राजेन्द्र पौडेलले बताउनुभयो । “जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका अदातल भवनको अवलोकन तथा अनुगमनका सिलसिलामा प्रधानन्यायाधीश पोखरा आइपुग्नुभएको हो”, उहाँले भन्नुभयो, “शनिबार उच्च अदालत पोखरा बागलुङ इजलास, जिल्ला अदालत बागलुङ र जिल्ला अदालत म्याग्दीको पनि निरीक्षण गर्नुहुने कार्यक्रम रहेको छ ।”
प्रधानन्यायधीश शर्मा आइतबार तनहुँ पुगी ‘जेन्जी’ आन्दोलनका क्रममा क्षति पुगेको जिल्ला अदालत भवनको अवलोकन गर्नुहुनेछ । ‘जेन्जी’ आन्दोलनका बेला उच्च अदालत पोखरा, कास्की जिल्ला अदालत र तनहुँ जिल्ला अदालतमा आगजनी गरी क्षति पु¥याइएको थियो ।
अदालत भवन जलेपछि ती अस्पतालको न्याय सम्पादनसहित समग्र सेवा प्रवाहमा कठिनाई उत्पन्न भइरहेका बेला प्रधानन्यायाशीध शर्माले भवन पुर्ननिर्माणको कामलाई अगाडि बढाउन पहल लिनुभएको उप–रजिष्ट्रार पौडेलले बताउनुभयो ।
प्रधानन्यायाशीश शर्माले नेपाल बार एशोसिएशन, पोखरा महानगरपालिकाका प्रतिनिधिसहित सरोकार भएका पक्षहरुसँग कास्की जिल्ला अदालत भवन निर्माणका लागि जग्गा व्यवस्थापनलगायतका विषयमा छलफल गर्नुभएको थियो । भवन जलेपछि उच्च अदालत पोखरा र कास्की जिल्ला अदालतले अस्थायी संरचनामा इजलास सञ्चालन गर्दै आएको छ ।
