Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

टोकियो क्षेत्रमा भूकम्पको धक्का, ३७ जना घाइते

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ७ आइतबार | (रासस-एपी)

टोकियो, ७ भदौ : जापानको पूर्वी क्षेत्रमा आइतबार बिहान पाँच दशमलव नौ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्पमा टोकियोसहित पाँच प्रिफेक्चरमा कम्तीमा ३७ जना घाइते भएका छन् । अधिकारीहरूले सुनामीको खतरा नरहेको बताएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु दक्षिणी इबाराकी प्रान्तमा ७० किलोमिटर गहिराइमा रहेको थियो । अमेरिकी भूगर्भ सर्वेक्षणले भने भूकम्प पाँच दशमलव आठ म्याग्निच्युड रहेको जनाएको छ ।

प्रिफेक्चरल अधिकारीहरू र अग्नि तथा विपद् व्यवस्थापन निकायका अनुसार टोकियोमा १५, साइतामामा नौ, कानागावामा आठ, चिबामा चार र इबाराकीमा एक जना घाइते भएका छन् । अधिकांश घाइते भूकम्पका बेला लड्दा वा फर्निचर तथा ढोकामा ठोक्किँदा चोट लागेको बताइएको छ ।

कानागावा प्रान्तको योकोहामामा ८० वर्षीया एक महिला ओछ्यानबाट लडेर गम्भीर रूपमा घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

भूकम्पका कारण टोकियो र नारिता विमानस्थल जोड्ने एक्सप्रेस रेल तथा उत्तरपूर्वी क्षेत्रमा सञ्चालन हुने केही स्थानीय रेल सेवामा ढिलाइ भएको थियो । यद्यपि, शिन्कानसेन बुलेट रेल सेवा सामान्य रूपमा सञ्चालन भएको पूर्वी जापान रेलवे कम्पनीले जनाएको छ ।

प्रधानमन्त्री साने ताकाइचीले सम्भावित क्षतिको मूल्याङ्कन गर्न सरकारले कार्यदल गठन गरेको बताउनुभयो । जापान मौसम विज्ञान एजेन्सीले भूकम्प प्रभावित क्षेत्रका बासिन्दालाई आगामी एक सातासम्म थप मध्यम खालका भूकम्प आउन सक्ने भन्दै सतर्क रहन आग्रह गरेको छ ।

टोकियोको कोटो वार्डमा भूमिगत पानीको पाइप फुटेर सडकमा पानी बगेको थियो । पाइप मर्मत गरी चुहावट रोकिएको छ । आणविक नियमन प्राधिकरणले देशका आणविक ऊर्जा केन्द्र तथा अन्य आणविक सामग्रीसम्बन्धी सुविधाबाट कुनै असामान्य अवस्थाको रिपोर्ट नभएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan