Monday 24th of August | २०८३ भदौ ८ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रतिनिधिसभाः ‘छोरी बचाउन राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्न माग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ८ सोमबार | (रासस)

काठमाडौँ, ८ भदौः प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले बालबालिकामाथि हुने यौनहिंसा र हत्याका घटना रोक्न ‘छोरी बचाऊ राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

    बैठकको विशेष समयमा उहाँले पछिल्लो समय बालिकामाथि भएका हिंसा र हत्याका घटनाले सिङ्गो मुलुकलाई भावविह्वल बनाएको बताउनुभयो । “कोपिलामै चुँडिएका र खुसी लुटिएका घटनाले आज यो सम्मानित सभा र सिङ्गो देश भावविह्वल भएको छ”, सांसद दुलालले भन्नुभयो । उहाँले पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै घटनामा संलग्न दोषीलाई कारबाही मात्र गर्नेभन्दा यस्ता घटना हुनै नदिन राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो ।

    “घटना घटेपछि कारबाही गरेर दोषीलाई सजाय दिनुभन्दा हाम्रा छोरीहरू बचाउनु अहिले राज्यको प्रमुख दायित्व बनेको छ”, सांसद दुलालले भन्नुभयो । उहाँले छोरीहरूको सुरक्षाका लागि राजनीतिक, शैक्षिक, स्वास्थ्यलगायत सबै क्षेत्रलाई समेटेर राष्ट्रिय जागरण अभियान सञ्चालन गर्न सरकारसँग आग्रह गर्नुभयो ।

    सांसद दुलालले स्वच्छ खानेपानी नागरिकको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै खानेपानीमा लगाइएको अनावश्यक शुल्क तथा कर हटाउन सरकारसँग माग गर्नुभयो । उहाँले पानीलाई केवल उपभोग्य वस्तुका रूपमा नभई निर्यातयोग्य स्रोतका रूपमा विकास गर्नुपर्ने बताउनुभयो । 

    नेपालमा पानीको प्रशोधन तथा उत्पादन गरी खाडी मुलुकलगायत अन्तरराष्ट्रिय बजारमा निर्यात गर्न सके ठूलो वैदेशिक आम्दानी गर्न सकिने सांसद दुलालको भनाइ छ । पानी उद्योगलाई प्रोत्साहन गर्दै निर्यातका लागि आवश्यक कानुनी तथा नीतिगत व्यवस्था सहज बनाउनुपर्ने उहाँले बताउनुभयो । सांसद दुलालले विद्युत्मा मूल्य अभिवृद्धि कर (भ्याट) लगाउन नहुने धारणा राख्नुभयो ।

    श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले मनसुनजन्य बाढीपहिरोका कारण ठूलो मात्रामा कृषि भूमि डुबानमा पर्ने गरेको भन्दै बाढी नियन्त्रणका लागि प्रभावकारी काम गर्नुपर्नेमा जोड दिनुभयो । विशेषगरी सुनसरीमा बर्सेनि बाढीका कारण कृषि उत्पादन प्रभावित हुने गरेको उल्लेख गर्दै उहाँले बाढी नियन्त्रण तथा कृषि क्षेत्रको संरक्षणका लागि दीर्घकालीन योजना आवश्यक रहेको बताउनुभयो ।

    सांसद राईले दुईदिने बिदाको व्यवस्थाले स्वास्थ्य क्षेत्रमा प्रभाव परेको भन्दै यस विषयमा पुनर्विचार गर्नुपर्ने धारणा राख्नुभयो । नेपाली नागरिकलाई क्यासिनोमा जुवा खेल्न दिँदा कतिपय परिवार घरबारविहीन हुने अवस्था बढेको भन्दै उहाँले क्यासिनोमा नेपालीको प्रवेश नियन्त्रणका लागि प्रभावकारी पहल गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले खाना पकाउने ग्यासको सहज र नियमित आपूर्तिको व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । 

    सांसद खुश्वु ओलीले बलात्कारका घटनामा संलग्न दोषीलाई कडा सजायको व्यवस्था गर्नुपर्ने बताउनुभयो । उहाँले बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको स्मरण गर्दै यस्ता जघन्य अपराध रोक्न सजायको व्यवस्था प्रभावकारी र कडा हुनुपर्नेमा जोड दिनुभयो ।

    “हाम्रा छोरीहरू कहिलेसम्म बलात्कारीको हातबाट मारिनुपर्ने हो ?”, सांसद ओलीले प्रश्न गर्नुभयो । बलात्कारपछि हत्या गरिएकी बालिका चौधरीले तीन वर्षकै उमेरमा ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उहाँले यस्ता अपराधमा संलग्न व्यक्तिले अपराध गर्नुअघि सजायको डर महसुस गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यमान कानुनको पुनरावलोकन, दण्डहीनताको अन्त्य तथा अपराध नियन्त्रणका लागि प्रभावकारी कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan