भोटेकोशी बाढीको दोस्रो दिन : काठमाडौंमा १७ हेलिकोप्टर स्ट्यान्डबाइ, उद्धारका लागि दुई उडे
काठमाडौं । भोटेकोशीमा आएको भीषण बाढीको दोस्रो दिन उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन काठमाडौंमा १७ वटा हेलिकोप्टर ‘स्ट्यान्डबाइ’ राखिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका एक अधिकारीका अनुसार रसुवा र नुवाकोटमा थप तीनवटा हेलिकोप्टर हिजैदेखि परिचालनको तयारीमा राखिएका छन्।
उद्धारका लागि आज काठमाडौं विमानस्थलबाट दुईवटा हेलिकोप्टर रसुवाको न्यौपानेचौर र राम्चेतर्फ उडेका छन्। रसुवामा उद्धार तथा ‘होभरिङ’ सकेपछि ती हेलिकोप्टर इन्धन भर्न नुवाकोट झर्नुपर्ने व्यवस्था गरिएको छ।
उद्धारमा खटिने हेलिकोप्टरलाई आवश्यक हवाई इन्धन उपलब्ध गराउन नेपाल आयल निगमले हिजो साँझ एक ट्यांकर हवाई इन्धन त्रिशूली पठाइसकेको छ।
यसैबीच, बाढी प्रभावित क्षेत्रमा घटनाको स्थलगत कानुनी प्रक्रिया तथा मुचुल्का तयार गर्न नेपाल प्रहरीले आज एसएसपीको नेतृत्वमा टोली रसुवा पठाउने भएको छ। उक्त टोलीले उद्धारसँगै घटनासँग सम्बन्धित कानुनी प्रक्रिया र मुचुल्का तयार गर्ने कार्यमा सहयोग गर्नेछ।
काठमाडौंमा भने गृह मन्त्रालयका सहसचिव ऋषिराम तिवारीको नेतृत्वमा हेलिकोप्टरमार्फत हुने उद्धार उडानको समन्वय भइरहेको छ। उद्धारका लागि सञ्चालन भइरहेका यी चार्टर उडानको व्यवस्थापन तथा भुक्तानी गृह मन्त्रालयले नै गर्नेछ।
उद्धार र राहतका लागि आवश्यक सामग्रीसमेत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा तीन स्थानमा भण्डारण गरिएको छ। विमानस्थलको हेलिप्याड, फायर स्टेसनलगायतका स्थानमा राहत सामग्री राखिएको छ। विमानस्थलमा तैनाथ बाहिनीले राहत सामग्रीको संकलन, व्यवस्थापन र आवश्यक क्षेत्रमा पठाउने काम गरिरहेको छ।
भोटेकोशी बाढीबाट रसुवासहितका प्रभावित क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि सरकार तथा सुरक्षा निकायले हवाई माध्यमबाट खोज, उद्धार र राहतलाई प्राथमिकतामा राखेका छन्।
