रसुवा बाढीमा १०८ सुरक्षाकर्मी सम्पर्कविहीन, १८ शव फेला (अपडेट)
काठमाडौं । रसुवामा आएको भीषण बाढीका कारण नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी १०८ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतका अनुसार बाढीपछि सेनाका मात्रै ४४ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायका टोली परिचालन भइरहेका छन्।
त्यसैगरी नेपाल प्रहरीका ३३ जना र सशस्त्र प्रहरी बलका १३ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको प्रारम्भिक विवरण प्राप्त भएको छ। प्रहरी र सशस्त्र प्रहरीतर्फ मात्रै गरी ४६ जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्।
यससँगै रसुवा बाढीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका गरी जम्मा १०८ जना सुरक्षाकर्मीको अवस्था अझै अज्ञात रहेको छ।
यसैबीच, बाढी तथा पहिरो प्रभावित क्षेत्रमा १८ वटा शव फेला परेको प्रहरीले जनाएको छ। फेला परेका शवमध्ये केहीको अझै पहिचान हुन बाँकी रहेको छ।
भोटेकोशी नदीमा आएको अचानकको भीषण बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसीलगायतका क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढीले सुरक्षा निकायका कार्यालय तथा संरचनासमेत प्रभावित पारेको छ।
घटनापछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले खोज तथा उद्धारलाई तीव्र बनाएका छन्। बेपत्ता सुरक्षाकर्मी तथा सर्वसाधारणको खोजीका लागि थप जनशक्ति र उद्धार साधन परिचालन गरिएको छ।
प्रारम्भिक विवरण भएकाले सम्पर्कविहीन सुरक्षाकर्मी तथा मृतकको संख्या अझै बढ्न सक्ने सुरक्षा निकायले जनाएको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले घटनाको पूर्ण विवरण आउन बाँकी छ।
