Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारत–अमेरिका व्यापार वार्ता अन्तिम चरणमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १६ शुक्रबार | (रासस/एएनआई)

मिल्वौकी (अमेरिका), १६ असोज :  भारत र संयुक्त राज्य अमेरिकाबीच प्रस्तावित द्विपक्षीय व्यापार सम्झौताको वार्ता अन्तिम चरणमा पुगे पनि तत्काल सम्झौता घोषणा हुने अवस्था नरहेको अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरले बताउनुभएको छ ।

सन् २०२६ को जी–२० व्यापार मन्त्रीहरूको बैठकका क्रममा उहाँले दुवै पक्षले सहमति हुन बाँकी मुख्य विषय पहिचान गरिसकेको र ती विषयमा निरन्तर काम भइरहेको बताउनुभयो । उहाँले सम्झौताको प्रगतिबारे मूल्याङ्कन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच चाँडै पुनः कुराकानी हुन सक्ने जानकारी दिनुभयो ।

ग्रियरले प्रधानमन्त्री मोदी र राष्ट्रपति ट्रम्पबीच बुधबार भएको कुराकानी रचनात्मक रहेको बताउँदै तत्काल सम्झौता घोषणा हुने अपेक्षा नगर्न आग्रह गर्नुभयो ।

भारतका वाणिज्य तथा उद्योगमन्त्री पियुष गोयलसँग पनि आफूहरूको रचनात्मक छलफल भएको उहाँले बताउनुभयो । गोयलले जी–२० व्यापार मन्त्रीहरूको बैठकको साइडलाइन छलफलमा ग्रियरसँग भेट गरी पारस्परिक रूपमा लाभदायक अन्तरिम सम्झौता निष्कर्षमा पुर्‍याउने विषयमा छलफल गर्नुभएको थियो ।

गोयलले सामाजिक सञ्जाल एक्समार्फत भारत–अमेरिका द्विपक्षीय व्यापार सम्झौताअन्तर्गत अन्तरिम सम्झौता अन्तिम रूप दिने विषयमा फलदायी छलफल भएको जानकारी दिनुभएको थियो । यसअघि मोदी र ट्रम्पबीच भएको फोन वार्तामा व्यापार, रक्षा, ऊर्जा, महत्त्वपूर्ण प्रविधिलगायतका क्षेत्रमा भएको प्रगतिको समीक्षा भएको थियो ।

भारत र अमेरिकाले गत फेब्रुअरीमा व्यापार सम्झौताको पहिलो चरणको ढाँचा तयार पार्ने घोषणा गरेका थिए । तर अमेरिकी भन्सार शुल्कसम्बन्धी पछिल्ला परिवर्तनका कारण वार्ता लम्बिएको छ ।

सेप्टेम्बर २४ मा गोयलले अमेरिकी बजारमा भारतीय वस्तुलाई चीन, बङ्गलादेश र आसियान सदस्य राष्ट्रलगायतका प्रतिस्पर्धीभन्दा उचित प्रतिस्पर्धात्मक लाभ सुनिश्चित भएपछि सम्झौता कार्यान्वयन गरिने बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan