बाल सुरक्षा बलियो बनाउन गेमिङ कम्पनीलाई आग्रह
क्यानबेरा, १६ असोज : अस्ट्रेलियाको अनलाइन सुरक्षा नियामकले रोब्लक्स, फोर्टनाइट, माइनक्राफ्ट र स्टीमलगायत अनलाइन गेमिङ सेवा प्रदायकलाई बाल यौन शोषण तथा अन्य हानिकारक सामग्रीबाट बालबालिकालाई जोगाउन सुरक्षा उपाय थप बलियो बनाउन आग्रह गरेको छ ।
अस्ट्रेलियाकी ईसेफ्टी आयुक्त जुली इनम्यान ग्रान्टले शुक्रबार सार्वजनिक गर्नुभएको प्रतिवेदनमा गेमिङ कम्पनीले बाल सुरक्षाका लागि अपनाएका उपायमा महत्त्वपूर्ण भिन्नता रहेको उल्लेख छ । बालबालिकाले पहुँच गर्न सक्ने उच्च जोखिमयुक्त खेल तथा सामग्री रोक्न कम्पनीहरूले असङ्गत उपाय अपनाएको र त्यस्ता सामग्रीले बाल यौन शोषण तथा अपराध वा हिंसाका लागि वातावरण बनाउन सक्ने प्रतिवेदनमा जनाइएको छ ।
“अस्ट्रेलियाका बालबालिकालाई फकाउने व्यक्ति, यौन शोषण, हिंसात्मक चरमपन्थी सामग्री वा अन्य हानिकारक सामग्रीको सम्पर्कमा नआई अनलाइन खेल्ने अधिकार छ”, आयुक्त इनम्यान ग्रान्टले भन्नुभयो । उहाँले बालबालिका त्यस्ता सामग्रीको सम्पर्कमा आउनुअघि नै गम्भीर जोखिम पहिचान गरी रोक्ने प्रणाली प्रयोग गर्न सेवा प्रदायकलाई आग्रह गर्नुभयो ।
प्रतिवेदनअनुसार फोर्टनाइट र माइनक्राफ्टका प्रदायकले बाल खाताका लागि सुरक्षा व्यवस्था गरे पनि प्रयोगकर्ताले आफैँ घोषणा गरेको उमेरसम्बन्धी विवरणमा मुख्यतः भर परेका छन् । यसले थप उमेर परीक्षणबिना उच्च जोखिमयुक्त सुविधामा पहुँचको अवस्था सिर्जना गरेको छ ।
स्टीमको सञ्चालक भल्भले स्टीम च्याटमा हुन सक्ने हानिकारक गतिविधि सक्रिय रूपमा पहिचान गर्ने उपकरण प्रयोग नगरेको तथा रोब्लक्स र भल्भले भाषा पहिचान प्रणालीका लागि आन्तरिक तथ्याङ्क मात्र प्रयोग गरेको प्रतिवेदनमा उल्लेख छ । ती प्रणालीलाई नियमित रूपमा पुनःतालिमसमेत नदिएको पाइएको छ ।
आयुक्त इनम्यान ग्रान्टले युवा खेलाडीको सुरक्षा सुनिश्चित गर्न गेमिङ सेवा प्रदायकले प्रभावकारी र निरन्तर सुरक्षा उपाय अपनाउनु महत्त्वपूर्ण रहेको बताउनुभयो ।
