मोबाइलका सामग्री बरामद
रुपन्देही, २३ कात्तिकः रुपन्देही प्रहरीले भन्सार छली गरी ल्याइएका रु छ लाखभन्दा बढी मूल्यका मोबाइलका विभिन्न पार्टपुर्जा तथा अन्य सामग्रीसहित मोटरसाइकल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी सांस्कृतिक नगरपालिका–११ स्थित मसिनाबाट आइतबार इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरी टोलीले भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा ती सामग्री बरामद गरेको हो ।
प्रहरीले एक हजार ३१ थान मोबाइल टेम्पर्ड ग्लास, २४० थान ग्लुसहितको कभर्ड ग्लास, ४३ थान आइफोन ब्याट्री, १०० थान एयरबड्स, १४६ थान आइफोन ब्याक प्यानल, छ थान एन्ड्रोइड ब्याक प्यानल र १०३ थान एन्ड्रोइड ब्याट्री बरामद गरेको जनाएको छ ।
प्रहरीका अनुसार बरामद मोबाइल सामग्रीको अनुमानित मूल्य रु छ लाख ६२ हजार ६७० रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिनुभयो । बरामद सामग्री तथा मोटरसाइकलका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


