अन्तरराष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा नेपाललाई स्वर्ण पदक
काठमाडौँ, २३ कात्तिकः नेपाली विद्यार्थीले पाँचौँ अन्तरराष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठतर्फ स्वर्ण पदक जितेका छन् ।
थाइल्यान्डको उबोन रात्चाथानीमा यही कात्तिक १५ देखि आज (नोभेम्बर १ देखि ८) सम्म आयोजित पाँचौँ अन्तरराष्ट्रिय ओलम्पियाड अन एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्स– कनिष्ठ (आइओएए–जेआर २०२६) मा नेपाली विद्यार्थी टोलीले सबैभन्दा ठूलो र अभूतपूर्व सफलता हासिल गरेको हो ।
विश्वभरका प्रतिभावान युवा मस्तिष्कमाझ भएको यस प्रतिस्पर्धामा नेपालले खगोल विज्ञान विधामा एक स्वर्ण, एक कास्य र एक सम्मानजनक उल्लेख (अनरेबल मेन्सन) उपाधि जित्न सफल भएको नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)का अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपाली टोलीका सदस्य शाहवाज आलमले ऐतिहासिक स्वर्ण पदक प्राप्त गरी नेपालको नाम अन्तरराष्ट्रिय मञ्चमा अङ्कित गराएको उहाँले बताउनुभयो । समग्र अन्तरराष्ट्रिय विज्ञान ओलम्पियाडको इतिहासमै कुनै पनि नेपाली विद्यार्थीले देशका लागि जितेको यो नै पहिलो स्वर्ण पदक भएको सोसाइटीले जनाएको छ ।
त्यसैगरी उत्कृष्ट प्रदर्शन गर्दै टोलीका सदस्य सहज केसीले कास्य पदक जित्न सफल भएका छन् भने अर्का सदस्य इभान दुबेले सम्मानजनक उल्लेख उपाधि प्राप्त गरेका छन् । प्रतियोगी अभिउदय ढुङ्गाना र अखिलेश पोखरेलले पनि प्रतियोगितामा सफलतापूर्वक सहभागिता जनाउँदै उत्कृष्ट प्राविधिक तथा प्राज्ञिक कौशल प्रदर्शन गरेका छन् ।
नेपाल एस्ट्रोनोमिकल सोसाइटीद्वारा आयोजित राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड (२०२६) को वैज्ञानिक छनोट प्रक्रिया र बन्द शिविरको विशेष प्रशिक्षणपश्चात् यी विद्यार्थीलाई नेपालको प्रतिनिधित्व गर्न थाइल्यान्ड पठाइएको थियो । थाइल्यान्डमा टोलीको नेतृत्व सोसाइटीका मनिषा द्वा र ओशन शर्मा कट्टेलले गर्नुभएको हो ।
खगोल विज्ञान ओलम्पियाडमा नेपालले प्राप्त गरेका विगतका कास्य पदकको जगमा उभिएर जुनियर खगोल विज्ञान अन्तरराष्ट्रिय ओलम्पियाड २०२६) मा प्राप्त यो स्वर्ण पदक समग्र देशकै शैक्षिक तथा वैज्ञानिक इतिहासमा एउटा युगान्तकारी कोशेढुङ्गा सावित भएको बताइएको छ । यसले नेपाली विद्यार्थीको बौद्धिक क्षमता विश्वस्तरको रहेको पुनर्पुष्टि गरेको सोसाइटीले दावी गरेको छ ।


