Saturday 15th of August | २०८३ श्रावण ३० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मोदीको बाढीले सडक बगाएपछि बिरेठाँटी-घान्द्रुक सम्पर्कविच्छेद

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २९ शुक्रबार | (रासस)

कास्की, २९ साउनः गए रातिको अविरल वर्षापछि मोदी खोलाको बाढीले कास्कीको अन्नपूर्ण गाउँपालिकाका विभिन्न स्थानमा क्षति पुर्‍याएपछि बिरेठाँटी-घान्द्रुक बीचको सम्बन्ध टुटेको छ । अन्नपूर्ण गाउँपालिका-८ बिरेठाँटीमा अविरल वर्षापछि आएको बाढीले सडकमा क्षति पुर्‍याउनुका साथै एउटा कच्ची घर बगाएको छ । 

    बाढीका कारण बिरेठाँटी-घान्द्रुक पक्की सडकखण्डसहित चिमुङ, स्याउलीबजार र स्याउलीबजारबाट सार्दीखोला जाने सडकमा कटान भएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीका कारण बिरेठाँटी बजारका सडक पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्नपूर्ण-७, ८, ९, १० र ११ का सडक पनि अवरुद्ध भएका छन् । 

    “प्राकृतिक विपद्का कारण केही दिनअघि पनि भौतिक क्षति पुगेकामा हिजो राति पुनः मोदीको बाढीले तटीय क्षेत्रमा सडक, पुललगायत संरचना बगाएको छ । घान्द्रुकको पोखरासँगको सम्पर्क टुट्दा पर्यटकमा समेत असर पुगेको छ”, अध्यक्ष केसीले भन्नुभयो । उहाँका अनुसार मोदी खोलामा आएको बाढीले बिरेठाँटीका ४४ वर्षीय विजय गुरुङको ढुङ्गामाटोले बनेको कच्ची घर पूर्ण रूपमा बगाएको छ । 

    यसैगरी स्थानीय ४० वर्षीया माया पाइजाको टिनले छाएको कच्ची टहरा पनि बाढीको उच्च जोखिममा परेको अध्यक्ष केसीले जानकारी दिनुभयो । जोखिम बढेपछि पाइजासहित चार सदस्यीय परिवारलाई स्थानीय छिमेकीको घरमा सारिएको गाउँपालिकाले जनाएको छ । घटनामा मानवीय क्षति भने भएको छैन ।
 
    त्यसैगरी, अन्नपूर्ण गाउँपालिका-१० स्याउलीबजारमा रहेको स्याउलीबजार र वडा नं ७ हवाली जोड्ने फलामे पैदल झोलुङ्गे पुलको स्याउलीबजारतर्फको भाग बाढीले बगाउँदा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । 

    स्याउलीबजारमा मनप्रसाद गुरुङको ढुङ्गा-माटोबाट निर्मित दुईतले कच्ची घरमा सञ्चालन हुँदै आएको स्याउलीबजार गेस्टहाउसमा बाढी पस्दा भौतिक संरचना तथा होटलका विभिन्न सामान बगाएको बताउँदै घरसमेत पूर्ण रूपमा जोखिममा परेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

    अन्नपूर्ण गाउँपालिका-११ छुम्रुङबेदीस्थित घान्द्रुक जलविद्युत् आयोजनामा छुम्रुङ खोलामा आएको बाढीका कारण कामदार बस्ने कोठा, शौचालय, भान्साकोठा तथा जलविद्युत् आयोजनाका विभिन्न सामग्रीमा क्षति पुगेको उहाँले बताउनुभयो । उहाँका अनुसार अन्नपूर्ण-५ हाइजुङस्थित माता अन्नपूर्ण मन्दिरमा फसेका तीन जनाको भने बिहान सकुशल उद्धार गरिएको थियो । 

    बाढीले मन्दिरमा आवतजावत गर्न प्रयोग हुँदै आएका कास्की र पर्वततर्फका दुईवटा ‘मेटल पुल’ बगाउनुका साथै मन्दिरको केही भागमा क्षति पुर्‍याएको छ । बाढीले नयाँ पुल क्षेत्रमा रहेको विद्युत्का खम्बासमेत बगाएको छ भने सडक तथा विद्युत् पूर्वाधारमा क्षति पुगेपछि स्थानीयको जनजीवन प्रभावित भएको छ । 

    मोदी खोलाले ठाउँठाउँमा क्षति गरेपछि प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानसहित जिल्ला सुरक्षा समितिको टोलीले स्थलगत अनुगमन गरेको थियो । त्यसैगरी, मादी गाउँपालिका-१ हुँगीमा मादीको नदीको बाढीले निर्माणाधीन अपरमादी जिरो हाइड्रोपावरको एउटा टिपर बगाएको बताउँदै निर्माणाधीन संरचनामा समेत क्षति पुगेको सहायक सहायक प्रजिअ बरालले जानकारी दिनुभयो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan