नेपालको आर्थिक रूपान्तरणमा निजी क्षेत्र र संयुक्त राष्ट्रसङ्घबीच सहकार्यमा जोड
काठमाडौँ, २ भदौः नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठ र संयुक्त राष्ट्रसङ्घका नेपालस्थित आवासीय संयोजक लिना पिटरबीच आज भेटवार्ता भएको छ ।
भेटवार्तामा नेपालको आर्थिक तथा सामाजिक विकासका लागि सरकार, निजी क्षेत्र, विकास साझेदार र संयुक्त राष्ट्रसङ्घलगायत सबै पक्षबीच परिणाममुखी सहकार्य आवश्यक रहेकामा जोड दिइएको छ ।
अध्यक्ष श्रेष्ठले सीप विकास, उद्यमशीलता, लगानी प्रवद्र्धन र मर्यादित रोजगारी सिर्जनाका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घसँग व्यावहारिक सहकार्य अघि बढाउन महासङ्घ इच्छुक रहेको बताउनुभयो । उहाँले लगानी तथा व्यावसायिक विश्वास पुनःस्थापना गर्दै युवालाई स्वदेशमै रोजगारी र उद्यमका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल अतिकम विकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकाले त्यसपछि उत्पन्न हुने चुनौती सामना गर्न उत्पादन क्षमता वृद्धि, निर्यात प्रतिस्पर्धा, व्यापार सहजीकरण र अन्तरराष्ट्रिय मापदण्ड पूरा गर्ने क्षेत्रमा संयुक्त राष्ट्रसङ्घको थप सहयोग आवश्यक रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
आवासीय संयोजक पिटरले नेपालमा निजी क्षेत्रसँग बलियो साझेदारीका लागि संयुक्त राष्ट्रसङ्घ सकारात्मक रहेको बताउँदै समावेशी तथा दिगो आर्थिक विकासमा निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले स्तरोन्नतिको अवसरलाई दिगो आर्थिक रूपान्तरण, रोजगारी सिर्जना, लगानी विस्तार तथा उत्पादन र निर्यात क्षमता अभिवृद्धिमा उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपालले स्तरोन्नतिपछि सहज सङ्क्रमणका लागि समयमा नै आवश्यक तयारी गर्नुपर्ने बताउनुभयो । साथै, विप्रेषणमा आधारित अर्थतन्त्रलाई उत्पादन, रोजगारी र लगानीमा आधारित अर्थतन्त्रमा रूपान्तरण गर्नुपर्ने धारणा राख्नुभयो ।
