Friday 21st of August | २०८३ भदौ ५ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रास्वपामा नौ केन्द्रीय सदस्य मनोनित, प्रवक्तामा जगदीश खरेल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ५ शुक्रबार | (रासस)

काठमाडौँ, ५ भदौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति सदस्यमा नौ जनालाई मनोनयन गरेको छ ।

पार्टीको आज बसेको केन्द्रीय समिति बैठकले सुनिल लम्साल, सुधन गुरुङ, प्रतिभा रावल, भूपदेव शाह, पुरुषोत्तम सुप्रभात यादव, डा मनोहर प्रधान, बसुमाया तामाङ, सुरेन्द्र चौधरी र डा भक्तबहादुर राईलाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।

बैठकले पार्टीका विभिन्न पदाधिकारी तथा विभागीय जिम्मेवारीसमेत तोकेको छ । सहमहामन्त्रीमा पुरुषोत्तम सुप्रभात यादव, कोषाध्यक्षमा डा मनोहर प्रधान, सहकोषाध्यक्षमा बसुमाया तामाङ, प्रवक्तामा जगदीश खरेल(ललितपुर) तथा सहप्रवक्तामा डा नमिता यादव र सुरेन्द्र चौधरीलाई मनोनयन गरिएको महामन्त्री विपिनकुमार आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार पार्टी सचिवालय सदस्यमा गणेश पराजुली, शिशिर खनाल, विराजभक्त श्रेष्ठ, पुरुषोत्तम सुप्रभात यादव, डा मनोहर प्रधान, कविन्द्र बुर्लाकोटी, जगदीश खरेल(ललितपुर), लिमा अधिकारी आचार्य, दीपकराज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राना मगर र मनिष झालाई मनोनयन गरिएको छ ।

विभागीय जिम्मेवारीतर्फ सङ्गठन विभाग प्रमुखमा प्रमोद न्यौपाने, अन्तरराष्ट्रिय सम्बन्ध विभाग प्रमुखमा शिशिर खनाल, सार्वजनिक सेवा तथा जनगुनासो व्यवस्थापन विभाग प्रमुखमा विजय जैरु, जनस्वास्थ्य विभाग प्रमुखमा डा तोसिमा कार्की, पूर्वाधार विभाग प्रमुखमा निशा डाँगी र अर्थ विभाग प्रमुखमा लिमा अधिकारी आचार्यलाई जिम्मेवारी दिइएको छ । प्रशिक्षण विभागको उपप्रमुखमा कमल सुवेदीलाई तोकिएको छ ।

रास्वपाले आगामी स्थानीय निर्वाचनका लागि महामन्त्री आचार्यको संयोजकत्वमा तयार गरिएको ‘उम्मेदवार छनोट रूपरेखा–२०८३’ लाई बैठकमा प्राप्त सुझावसमेत समेटेर अनुमोदन गर्ने निर्णय गरेको छ ।

स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समितिका सदस्य बन्न इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यबाट नामावली माग गर्ने निर्णयसमेत बैठकले गरेको छ ।
 
‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ ।

स्थानीय निर्वाचनको तयारीका लागि केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्यलाई ४६० गाउँपालिकामा परिचालन गरी उम्मेदवार छनोट रूपरेखालगायत विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालनको संयोजन सहमहामन्त्री निशा डाँगीले गर्नुहुनेछ ।

बैठकले आगामी असोजदेखि ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने निर्णयसमेत गरेको महामन्त्री आचार्यले जानकारी दिनुभयो ।

मधेसमा जिल्ला तथा प्रदेश अधिवेशन सुरु गर्नुअघि सङ्गठनको अडिट गर्न सहमहामन्त्री हरि ढकालको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ । समितिमा मधेसबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्य रहनेछन् ।

रास्वपाको विधानअनुसार सभापति एक, राष्ट्रिय महाधिवेशनबाट निर्वाचित ९९, मनोनित ५१ र पदेन केन्द्रीय सदस्यका रूपमा प्रदेश सभापति सात गरी १५८ सदस्यीय केन्द्रीय समितिको व्यवस्था छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan