Tuesday 25th of August | २०८३ भदौ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ९ मंगलबार | हिमाल लम्साल/रासस

काठमाडौँ, ९ भदौ : अपेक्षाकृत रूपमा सेयर कारोबार हुन नसक्दा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा पनि गिरावट देखिएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म सरकारले रु १० अर्ब ७० करोड २५ लाख पुँजीगत लाभकर प्राप्त गरेको छ ।

    जबकि आव २०८१/८२ मा सरकारले रु १८ अर्ब १७ करोड पुँजीगत लाभकर प्राप्त गरेको थियो ।

    नेपाल इन्भेष्टर्स फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले सेयर बजारका लगानीकर्ताको मनोबल खस्किएकाले सेयर कारोबार घट्दा सरकारले प्राप्त गर्ने पुँजीगत लाभकरमा समेत प्रत्यक्ष प्रभाव परेको बताउनुभयो ।

    “निजी क्षेत्रका लगानीकर्तामा विश्वासको वातावरण नभएकाले पनि सेयर बजारमा अपेक्षाकृत रूपमा लगानी गर्न सकिरहेका छैनन् । जसका कारण पुँजीगत लाभकरमा पनि असर परेको छ”, उहाँले भन्नुभयो, “सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पुँजीगत लाभकर अल्पकालीन १० प्रतिशत र दीर्घकालीन ७ दशमलव ५ प्रतिशत कायम गरेकाले पनि सेयर लगानीकर्ता लगानी गर्न डराइरहेको अवस्था छ ।”

    यसअघि यस्तो कर अल्पकालीन ७ दशमलव ५ प्रतिशत र दीर्घकालीन ५ प्रतिशत रहेको थियो । सेयरको पुँजीगत लाभकरमा मात्र नभई पछिल्लो समय सेयर बजारमा आएको उतारचढावका कारण धितोपत्र बजारको पुँजीकरणमा समेत घटबढ देखिएको छ ।

    विसं २०८२ असोज मसान्तमा नेप्से परिसूचक दुई हजार ४८७ दशमलव १८ विन्दुमा पुग्दा धितोपत्र बजार पुँजीकरण रु ४१ खर्ब ५७ अर्ब ९० करोड पुगेको थियो । त्यस्तै, २०८२ चैत मसान्तसम्म नेप्से परिसूचक दुई हजार ८३३ दशमलव ६० विन्दुमा पुग्दा धितोपत्र बजार पुँजीकरण रु ४८ खर्ब ३२ अर्ब कायम भएको थियो ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार २०८३ भदौ ९ गते अर्थात् आज नेप्से परिसूचक दुई हजार ५९४ दशमलव २७ विन्दुमा पुग्दा धितोपत्र बजारको पुँजीकरण रु ४४ खर्ब ६२ अर्ब कायम भएको छ ।

    सामान्यतया बजार पुँजीकरण धितोपत्र बजारमा सूचीकृत सेयरहरूको मूल्य र सङ्ख्यालाई गुणा गरेर निकाल्ने गरिन्छ । नेपाल स्टक एक्सचेन्जका सूचना अधिकारी मुराहरी पराजुलीले सेयरको दोस्रो बजारमा हुने उतारचढावलाई सामान्य रूपमा हेर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “यो सामान्य प्रक्रिया नै हो ।”

    सूचना अधिकारी पराजुलीले धितोपत्र बजारको पुँजीकरण पनि सेयरको मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने सामान्य प्रक्रिया रहेको बताउनुभयो । “गत चैतमा सेयरको मूल्य बढेको थियो । त्यसैले बजार पुँजीकरण बढेको देखियो”, उहाँले भन्नुभयो, “अहिले सेयरको मूल्य घटेको छ । त्यसैले बजार पुँजीकरण घटेको देखिएको हो ।”

    नेपाल धितोपत्र बोर्डका प्रवक्ता नीरञ्जय घिमिरेले बोर्डले धितोपत्र बजारलाई व्यवस्थित गर्नेतर्फ काम गर्दै आइरहेको बताउनुभयो । “हामीले धितोपत्र बजारलाई व्यवस्थित र मर्यादित गराउने गरी काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।

    नेपाल धितोपत्र बोर्डका अनुसार ‘नेपालको पुँजीबजार विकास मार्गचित्र–२०८३’ अनुसार नेप्से सूचकाङ्क २०७८ भदौमा ३१९९ दशमलव ०३ विन्दुमा पुगेको थियो । यो नै हालसम्मकै उच्च विन्दु कायम भएको हो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan