भन्सार छलीका सामानसहित पक्राउ
वीरगञ्ज (पर्सा), ९ भदौः प्रहरीले भन्सार छली गरी नेपाल ल्याइएको रु १० लाख बराबरका लत्ताकपडासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिराभवानी गाउँपालिका–१ बलुवास्थित सीमाक्षेत्रबाट भन्सार छली गरी विभिन्न किसिमका लत्ताकपडा नेपालतर्फ ल्याउँदै गरेको भन्ने सूचनाका आधारमा प्रहरीले आज ती सामान नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकी महादेवपट्टि र सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी महादेवपट्टिबाट खटिएको संयुक्त टोलीले एउटा मोटरसाइकल र रु १० लाख बराबरको १२ बोरा कपडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
प्रहरीले वीरगञ्जका दीपेन्द्र साहलाई पक्राउ गरेको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक मल्लले जानकारी दिनुभयो ।
