Wednesday 26th of August | २०८३ भदौ १० बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिकी नयाँ प्रतिबन्धले केही हासिल नगर्ने इरानी राष्ट्रपतिको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १० बुधबार | (रासस/एएफपी)

इरानी राष्ट्रपति मसुद पेजेस्कियनले अमेरिकाले लगाउन लागेको नयाँ आर्थिक प्रतिबन्धबाट केही उपलब्धि हासिल नहुने बताउनुभएको छ । स्थानीय सञ्चारमाध्यमले बुधबार उहाँको भनाइ उद्धृत गर्दै यस्तो जानकारी दिएका हुन् ।

    आइएसएनए समाचार एजेन्सीका अनुसार पेजेस्कियनले सरकारले आर्थिक क्षेत्रमा अघि सारेका उपायका कारण अमेरिकाले आर्थिक दबाबमार्फत केही हासिल गर्न नसक्ने बताउनुभयो । “जसरी उसले युद्धमा केही हासिल गर्न सकेन, त्यसरी नै आर्थिक दबाबमार्फत पनि केही हासिल गर्न सक्नेछैन,” उहाँले भन्नुभयो ।

    अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सोमबार इरानको अर्थतन्त्रलाई ‘दमघोट्ने’ योजनाको घोषणा गर्दै उक्त अभियानमा सहभागी नहुने मुलुकले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिनुभएको थियो ।

    इरानी नेताले भने नयाँ प्रतिबन्धको प्रभावलाई अस्वीकार गर्दै आएका छन् । इरानले सन् १९७९ को इस्लामिक क्रान्तिपछि दशकौँदेखि विभिन्न अमेरिकी प्रतिबन्ध सामना गर्दै आएको छ ।

    पेजेस्कियनले समस्या समाधानका लागि संवाद र वार्तालाई प्राथमिकता दिने बताउँदै आर्थिक दबाबविरुद्ध दृढतापूर्वक उभिने स्पष्ट पार्नुभयो ।

    यसैबीच, रणनीतिक महत्वको होर्मुज जलसन्धिमा नियन्त्रणको विषयलाई लिएर इरान र अमेरिकाबीच तनाव बढेपछि दुई देशबीचको वार्ता रोकिएको छ ।

    विश्वको करिब पाँच भागको एक भाग तेल तथा तरल प्राकृतिक ग्यास (एलएनजी) ओसारपसार हुने यो जलमार्गमा आवागमन प्रभावित हुँदा विश्वव्यापी ऊर्जा बजारमा असर परेको छ ।

    फेब्रुअरी २८ मा युद्ध सुरु भएयता इरानले होर्मुज जलसन्धिमाथि नियन्त्रण कायम राख्दै जलमार्गबाट आवतजावत गर्ने जहाजमा शुल्क लगाउने प्रयास गरेको छ ।

    अमेरिकाले भने जलसन्धिमा युद्धअघि जस्तै स्वतन्त्र आवागमन सुनिश्चित गर्नुपर्ने बताउँदै आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनको उक्त जलमार्गमा ‘पूर्ण नियन्त्रण’ रहेको दाबी गर्नुभएको छ । इरानको रिभोलुसनरी गाड्र्सले बुधबार त्यसको खण्डन गर्दै होर्मुज जलसन्धि आफ्नो नियन्त्रणमा रहेको र इरानको अनुमतिबिना कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने जनाएको छ ।

    “यदि अमेरिकाले हाम्रा सर्त स्वीकार गरेन भने कुनै पनि अवस्थामा होर्मुज जलसन्धि खोलिनेछैन,” गाड्र्सले भनेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan