बसन्तपुरमा येँया (इन्द्रजात्रा)को रौनक : जीवित देवीदेवताको रथयात्रा सुरु, राष्ट्रपति–उपराष्ट्रपतिसहित विशिष्टद्वारा अवलोकन
काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पर्व येँया (इन्द्रजात्रा) अन्तर्गत जीवित देवीदेवताको रथयात्रा आजदेखि सुरु भएको छ ।
बसन्तपुरस्थित कुमारी घर अगाडिबाट जीवित देवी श्री कुमारी, श्री गणेश र श्री भैरवलाई रथारोहण गराएसँगै यस वर्षको रथयात्रा सुरु गरिएको हो । रथयात्रा सुरु भएसँगै बसन्तपुर क्षेत्रमा जात्राको उल्लास र धार्मिक–सांस्कृतिक चहलपहल बढेको छ ।
येँया अवलोकनका लागि राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादवलगायत विशिष्ट पदाधिकारी बसन्तपुर पुग्नुभएको थियो । उहाँहरूसँगै कार्यवाहक प्रधानमन्त्री डा. स्वर्णिम वाग्ले, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, सभामुख डोलप्रसाद (डीपी) अर्याल, उपसभामुख रुबीकुमारी ठाकुरलगायत उच्च पदाधिकारीको उपस्थिति थियो ।
त्यस्तै, गृहमन्त्री सुदन गुरुङ, ऊर्जा तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठ, भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शोविता गौतम तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस) पनि जात्रा अवलोकनका लागि बसन्तपुर पुग्नुभएको थियो ।
विशिष्ट पदाधिकारीलाई काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतसहित जनप्रतिनिधि तथा विभागीय प्रमुखहरूले जुद्ध शालिक अगाडि स्वागत गर्नुभएको थियो । स्वागतपछि विशिष्ट पदाधिकारी पैदलै गद्दी बैठकसम्म पुग्नुभएको थियो ।
विशिष्ट पदाधिकारीले गद्दी बैठकबाट येँया (इन्द्रजात्रा) अन्तर्गतका धार्मिक तथा सांस्कृतिक गतिविधि र रथयात्राको अवलोकन गर्नुभएको थियो ।
यस वर्षको जात्रामा सहभागी महिला मन्त्रीहरूले परम्परागत हाकुपटासी पहिरन लगाउनुभएको थियो । यसले काठमाडौंको मौलिक नेवारी संस्कृति, परम्परा र पहिचान झल्काउने जात्रामा थप सांस्कृतिक आकर्षण थपेको थियो ।
काठमाडौंको मौलिक संस्कृति र ऐतिहासिक सम्पदासँग जोडिएको येँया (इन्द्रजात्रा)मा कुमारी, गणेश र भैरवको रथयात्रा मुख्य आकर्षणमध्ये एक मानिन्छ । जात्राका क्रममा बसन्तपुर दरबार क्षेत्रदेखि काठमाडौंका विभिन्न स्थानमा धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधि सञ्चालन हुने गर्छन् ।
