पदक विजेता महिला कबड्डी टोली स्वदेश फर्कियो
जापानमा भएको २० औं एसियाली खेलकुदमा पदक जित्न सफल नेपाली महिला कबड्डी टोलीसंगै पुरुष कबड्डी टोली बुधबार स्वदेश फर्किएको छ ।
सेप्टेम्बर २१ देखि २६ तारिखसम्म नागोयास्थित टोकाइ सिटिजन जिम्नाजियममा भएको कबड्डीमा महिला टोलीले कांस्य पदक जितेको थियो । महिला कबड्डीमा नेपालले लगातार दोश्रोपटक कांस्य जितेको छ । पहिलो सहभागितामै नेपालले १९ औं संस्करणको हाङझाव एसियाडमा पनि कांस्य जितेको थियो । महिला कबड्डीमा नेपालसहित ८ राष्ट्र सहभागी थिए ।
समूह ‘बी’ को लिगमा नेपालले थाइल्यान्डलाई ४६–४३ र श्रीलंकालाई ३४–२५ ले हराएको थियो । गत संस्करणको उपविजेता चाइनिज ताइपेईंसंग ३७–१८ ले चुकेपछि नेपाल समूह उपविजेता हुँदै सेमिफाइनलमा पुगेको थियो । सेमिफाइनल पुगेसंगै नेपालले कम्तीमा कांस्य पदक निश्चित गरेको थियो ।
सेमिफाइनलमा नेपाल भारतसंग १८–३७ ले पराजित भएको थियो । डिफेन्डिङ च्याम्पियन भारतनै उपाधि जित्न सफल भयो ।
टिम स्पर्धामा लगातार दुई संस्करणमा पदक जित्ने नेपाली महिला कबड्डी टोली पहिलो हो । व्यक्तिगत स्पर्धामा भने यो उपलब्धी तेक्वान्दोका दीपक विष्टको नाममा छ । उनले सन् २००२ को बुसान एसियाड र सन् २००६ को दोहा एसियाडमा कांस्यनै जितेका थिए ।
माननमति विष्टको कप्तानीमा रहेको टोलीका अन्य सदस्यमा रविना चौधरी, गंगा घिमिरे, नानुमाया पराजुली, विनिता पण्डित क्षेत्री, जयन्ती बडू, आस्मा यादव, खिममाया खत्री, मेनुकाकुमारी राजवंशी, मिना नेपाली, सिर्जनाकुमारी थारु र मनीषा जोशी रहेका छन् । यो टोलीका सदस्य मानमति, मेणुका, जयन्ती, रविना, सिर्जना र गंगा १९ औं हाङझावको पनि हिस्सा थिए ।
मुख्य प्रशिक्षकमा पार्वती राई, सहायक प्रशिक्षकमा लोकबहादुर विष्ट र व्यवस्थापकमा शरद दर्शनधारी छन् । हाङझाव एसियाडमा पनि पार्वती मुख्य प्रशिक्षक थिइन् ।
दस राष्ट्र सहभागी पुरुष कबड्डीमा भने नेपाल समूह चरणबाटै बाहिरयो । ५ राष्ट्र रहेको समूह ‘ए’ मा नेपालले लिगमा १ मा जित र बाँकीमा पराजय व्यहोर्यो । नेपालले मलेसियालाई ६३–५२ ले हराएको थियो । अन्य खेलमा नेपाल थाइल्यान्डसंग ४८–५९, पाकिस्तानसंग ४३–५८ र इरानसंग २३–७६ ले पराजित भएको थियो । पुरुष कबड्डीमा नेपालको पाँचौं सहभागिता हो ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रामचरित्र मेहता, युवा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार र सल्लाहकार राजु सिंह, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ, राखेपका सदस्यद्वय मोनालिशा खम्बु र ललिता नाथ, खेलाडी, प्रशिक्षक, विभागीय टोलीका प्रतिनिधि, शुभचिन्तक, आफन्तलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।
