Sunday 4th of October | २०८३ असोज १८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

म्युजिकल चियरजस्तो बनेको राजनीतिले सबै पार्टी र नेता एउटै हुन् भन्ने सन्देश गयो जसले भदौ २३ र २४ आयो : गगन थापा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ असोज १८ आइतबार |
newsabhiyan

काठमाडौं  । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सत्ता र नेतृत्वमा उही अनुहार दोहोरिरहने प्रवृत्तिले नेपालको राजनीति ‘म्युजिकल चियर’ जस्तो बनेको बताएका छन्। यस्तो प्रवृत्तिले सबै राजनीतिक दल र नेता एउटै हुन्, सबै खराब छन् भन्ने सन्देश जनतामा गएको र त्यसकै परिणाम भदौ २३ र २४ गतेको आएको उनको भनाइ छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री बनेका व्यक्ति फेरि प्रधानमन्त्री बन्न खोज्ने, नेता बनेका व्यक्ति फेरि नेतृत्वमा दोहोरिरहने र मन्त्री बनेका व्यक्ति पनि पटकपटक सत्तामा जाने प्रवृत्तिले जनतामा राजनीतिप्रति वितृष्णा बढाएको बताए।

‘म्युजिकल चियरजस्तो बनेको थियो। प्रधानमन्त्री बनेका फेरि बन्न मन लाग्ने, नेता बनेका फेरि बनिरहने, मन्त्री पनि बनिरहने, सत्ता नछोड्ने,’ थापाले भने, ‘यसले सबै पार्टी र नेता सबै एउटै हुन्, सबै खराब हुन् भन्ने सन्देश गयो।’

राजनीति समाजका हरेक क्षेत्रमा हाबी भएको भन्दै थापाले सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म अत्यधिक राजनीतिकरण भएको बताए। फेसबुकदेखि ट्विटरलगायतका माध्यममा हरेक विषयलाई राजनीतिक दृष्टिले हेर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो।

‘अति राजनीति पनि छ। फेसबुकदेखि ट्विटरदेखि सबै क्षेत्रमा राजनीति हुन्छ। फेरि जनता हाइपर पोलिटिक्सतिर गयो। जे भए पनि राजनीतिको आँखाले हेर्न थालियो,’ उनले भने।

राजनीतिक दल र नेतृत्वप्रतिको असन्तुष्टि विस्तारै बढ्दै गएर ‘भुसको आगो’ जस्तो बनेको थापाले बताए। त्यसले कुनै एउटा दल वा नेतालाई मात्रै नभई समग्र राजनीतिक प्रणाली र नेतृत्वलाई नै प्रभावित गरेको उनको भनाइ थियो।

‘यो भुसको आगोले सबैलाई एकैपटक खायो,’ उनले भने।

थापाले दुई पार्टी मिलेर बनेको दुईतिहाइको सरकार र त्यसको कार्यशैलीबारे जनतासँग पर्याप्त संवाद हुन नसकेको बताए। राजनीतिक दलहरूले बदलिँदो जनभावना र असन्तुष्टिलाई समयमै बुझ्न नसक्दा भदौ २३ र २४ गतेको परिस्थिति आएको उनको भनाइ थियो।

‘दुई पार्टी मिलेर बनेको थियो दुईतिहाइको सरकार। सबैले थाहै पाएनन्, जसका कारण भदौ २३ र २४ आयो,’ थापाले भने।

भदौ २३ र २४ को घटनाबाट कांग्रेससहित अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ता समेत प्रभावित भएको उनले बताए। त्यसबाट पाठ सिक्दै कांग्रेसले आफूलाई सम्हाल्न विशेष महाधिवेशनमा गएको उनले स्मरण गरे।

‘यहीँ हामीले बुझेनौँ। यसले कांग्रेस र अन्य पार्टीका नेता र कार्यकर्ता पनि भिक्टिम भए। तर पनि हामी सम्हालिनुपर्छ भनेर विशेष महाधिवेशनमा गयौँ,’ उनले भने।

विशेष महाधिवेशनपछि कांग्रेस निर्वाचनमा गएको तर परिणाम आफ्नो पक्षमा आउन नसकेको उनले बताए। कांग्रेसले यसअघि पनि विभिन्न निर्वाचनमा हार र जित व्यहोर्दै आएको उल्लेख गर्दै थापाले अहिले पार्टी नयाँ महाधिवेशनको चरणमा प्रवेश गरेको बताए।

‘त्यसपछि चुनावमा गयौँ, तर हाम्रो पक्षमा आएन। कांग्रेसले धेरै चुनावमा हार्ने र जित्ने गरेको छ। अब नयाँ महाधिवेशनमा अहिले होमिएका छौँ,’ उनले भने।

थापाले १५औँ महाधिवेशनलाई विगतका कमजोरीको समीक्षा गर्दै कांग्रेसलाई नयाँ राजनीतिक यात्रामा अघि बढाउने अवसरका रूपमा लिनुपर्ने बताए।

जनतामा बढेको राजनीतिक वितृष्णा र दलहरूप्रतिको अविश्वास चिर्न कांग्रेसले आफ्नो नेतृत्व, व्यवहार र राजनीतिक कार्यशैलीमा परिवर्तन गर्नुपर्ने उनको भनाइ छ।

सभापति गगनकुमार थापाले कांग्रेसको १५औँ महाधिवेशन काठमाडौंको खुलामञ्चमा आयोजना गर्नुको विशेष राजनीतिक अर्थ रहेको बताएका छन्। उनले खुलामञ्च केवल काठमाडौंको एउटा चौर नभई नेपाली राजनीतिक आन्दोलन, विचार, असहमति र खुला संवादको महत्वपूर्ण थलो भएको बताएका हुन्।

 उद्घाटन समारोहलाई सम्बोधन गर्दै थापाले बीपी कोइरालाको पार्टीले खुलामञ्चमा आएपछि नयाँ सन्देश र नयाँ संकल्प लिएर अघि बढ्नुपर्ने बताए। उनका अनुसार खुलामञ्चमा फरक विचार र फरक मत राख्ने मानिसलाई एउटै ठाउँमा उभ्याउने विशेषता छ। 

थापाले खुलामञ्चमा आएपछि मतभेद समाप्त हुने नभई मतभेदलाई एउटै साझा मञ्चमा राखेर संवाद गर्ने वातावरण बन्ने बताए। उनले बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालालगायतका नेताहरूले समेत यही ठाउँबाट राजनीतिक विचार र धारणा सार्वजनिक गरेको स्मरण गरे। 

उनले भने, “खुलामञ्चको एउटा विशेषता छ, यसले फरक मान्छेलाई एउटै सार्वजनिक ठाउँमा ल्याइदिन्छ। खुलामञ्चमा आएपछि मतभेद सकिन्छ भन्ने होइन, मतभेदलाई एउटै साझा मञ्चमा राख्ने ठाउँ हो।” 

थापाले लोकतन्त्रलाई राजनीतिक दल र संसद्बाहिर मात्रै खोजेर नहुने धारणा राखे। उनका अनुसार संसद् र राजनीतिक दलभित्र पनि जनताका प्रश्न, असहमति र विचारका लागि पर्याप्त खुलापन आवश्यक छ।

“पहिलो खुलामञ्च संसद्भित्रै चाहिएको छ,” भन्दै उनले संसद् खुला हुनका लागि जनताका प्रश्न सुन्ने र प्रधानमन्त्री तथा सरकार जनताप्रति उत्तरदायी हुने वातावरण आवश्यक रहेको बताए। सत्तामा रहेकाहरूले जनताको आवाज सुन्नुपर्ने र जनतासँग निरन्तर संवाद गर्नुपर्ने उनको भनाइ थियो। 

त्यस्तै, उनले राजनीतिक दलभित्र पनि प्रश्न र आलोचनाका लागि ठाउँ हुनुपर्ने बताए। नेतृत्वलाई प्रश्न गर्दा सदस्यता नै जाने अवस्था हुनु नहुने उल्लेख गर्दै थापाले फरक मत राख्ने, नेतृत्वको आलोचना गर्ने र प्रश्न गर्ने अधिकारलाई पार्टीको आन्तरिक लोकतन्त्रमा संस्थागत गर्नुपर्ने बताए। 

थापाले पछिल्लो समय समाजका धेरै विषय अत्यधिक राजनीतिकरण भएको र राजनीतिक दल तथा नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएको बताए। सामाजिक सञ्जालदेखि सार्वजनिक जीवनसम्म हरेक विषयलाई राजनीतिक दृष्टिले हेर्ने प्रवृत्ति बढेको उनको भनाइ थियो। उनले पछिल्ला राजनीतिक घटनाक्रमबाट राजनीतिक दलहरूले पाठ सिक्नुपर्ने आवश्यकता औँल्याए। 

उनले कांग्रेसले पनि विगतका कमजोरीबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नुपर्ने बताए। १५औँ महाधिवेशनलाई केवल नेतृत्व चयन गर्ने कार्यक्रमका रूपमा नभई पार्टीको राजनीतिक, वैचारिक, सांगठनिक तथा आर्थिक रूपान्तरणको अवसरका रूपमा अघि बढाउने उनको धारणा छ।

थापाले तयार पारेको राजनीतिक प्रतिवेदनमा पनि कांग्रेसले विगतमा सत्ता, पद, गुट र पहुँचकेन्द्रित राजनीतिका कारण जनतासँग दूरी बढाएको आत्मसमीक्षा गरिएको छ। पार्टी पुनर्संरचना, आन्तरिक लोकतन्त्र, सुशासन, युवा सहभागिता, सरकारमाथि प्रभावकारी खबरदारी तथा निर्वाचनपूर्व गठबन्धन नगर्ने प्रस्तावसमेत प्रतिवेदनमा समेटिएको छ। 

कांग्रेसको १५औँ महाधिवेशनमा देशभरबाट ७ हजार ७ सयभन्दा बढी प्रतिनिधि काठमाडौंमा सहभागी हुँदैछन्। उद्घाटन समारोह खुलामञ्चमा आयोजना गरिएको हो भने महाधिवेशनले पार्टीको आगामी राजनीतिक तथा सांगठनिक दिशा तय गर्नेछ। 

थापाका अनुसार खुलामञ्चमा महाधिवेशन गर्नुको मूल सन्देश राजनीति बन्द कोठामा होइन, जनताबीच खुला रूपमा हुनुपर्छ भन्ने हो। त्यसैले कांग्रेसले खुलामञ्चबाटै आफ्नो विगतको समीक्षा गर्दै आगामी राजनीतिक यात्रा, लोकतान्त्रिक अभ्यास र जनतासँगको सम्बन्धबारे नयाँ सन्देश दिनुपर्ने उनको जोड थियो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan