अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
काठमाडौं,२९ असोज : काठमाडौं, तारकेश्वर नगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन ९६ ग्राम र डिजिटल तराजु १ थान सहित रसुवा उत्तरगया गाउँपालिका-५ घर भएका २७ वर्षीय सन्च बहादुर गोलेलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-१६ माछापोखरीबाट अवैध लागूऔषध आईस (मेथाम्फेटामाईन) जस्तो देखिने पदार्थ १५ ग्राम सहित ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रसुवा नौकुण्ड गाउँपालिका-२ घर भएका ३२ वर्षीय सुमन थोक्रा, सोही गाउँपालिका-१ घर भएका २८ वर्षीय गणेश थोक्रा तामाङ, काठमाडौं टोखा नगरपालिका-१ घर भएका २९ वर्षीय सुनिल तामाङ, काठमाडौं तारकेश्वर बस्ने धादिङ खनियाबास गाउँपालिका-५ घर भएका २२ वर्षीय योना तामाङ र १८ वर्षीय किशोर रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-७ बाट अवैध लागूऔषध खैरो हेरोइन ३४ ग्राम ५ सय ६० मिलिग्राम सहित सोही महानगरपालिका-१७ रानी घर भएका १९ वर्षीय बासु मण्डल समेत २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सर्लाही, हरिवन नगरपालिका-४ तिनघरेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २३ ग्राम ३ सय १० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय सागर पाख्रिन र २५ वर्षीय राजु भुजेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिवास समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोग्राम सहित मनहरी गाउँपालिका-९ रजैया बस्ने ५१ वर्षीय सिताराम अधिकारीलाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वासनगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ ग्राम १ सय ५० मिलिग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-६ लालपुर बस्ने २८ वर्षीय राजेश कोली, २३ वर्षीय सुरेश कोली र भारत लखिपुर खिरी बसई घर भएका ३० वर्षीय राम पुकार रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सु.प.प्र.०१-०१३प ६७६३ नम्बरको मोटरसाइकलमा सवार राजेश र सुरेशलाई ४ ग्राम ४ सय १० मिलिग्राम तथा युपि ३१ सिपि ६९७८ नम्बरको मोटरसाइकलमा सवार रामलाई ३ ग्राम ७ सय ४० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले थप अनुसन्धानको लागि १ जनालाई नियन्त्रणमा लिएको छ ।
यसैगरी कञ्चनपुर,बेलौरी नगरपालिका-६ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो दखिने पदार्थ ९ सय मिलिग्राम सहित शुक्लाफाँटा नगरपालिका-१० बस्ने १८ वर्षीय किशोरलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१६ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ३० मिलिग्राम र नगद ११ हजार रूपैयाँ सहित २ जनालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-१३ सैलुङ टोल बस्ने३३ वर्षीय विर बहादुर परियार र तुलसीपुर उपमहानगरपालिका-१९ सुन्दर बजार टोल बस्ने ३२ वर्षीय पुर्ण बुढा मगर रहेका छन् । अस्थायी प्रहरी पोष्ट सर्राबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० बामेखोला बस्ने २४ वर्षीय मिलन बस्नेतलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय ७० मिलिग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतबाटखटिएको प्रहरीले मिलनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

