Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरामा सवारीसाधनको प्रदूषण परीक्षणमा तीव्रता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार |

    गण्डकी, २५ साउनः पोखरामा आइतबार ८० वटा सवारीसाधनको प्रदूषण परीक्षण गर्दा १५ वटा सवारीसाधनले मापदण्डभन्दा बढी धुवाँ फाल्ने गरेको भेटिएको छ । यातायात व्यवस्था कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालयले गरेको छड्के अनुगमनका क्रममा ती सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो । 

    बढी धुवाँ फाल्ने र यान्त्रिक अवस्था ठिक नभएका सवारीसाधनको परीक्षणमा पछिल्लो समय कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुदीपकुमार देवकोटाले जानकारी दिनुभयो । नियन्त्रणमा लिइएका सवारीसाधनलाई कानुनी कारबाहीका लागि यातायात व्यवस्था कार्यालय सवारीमा पठाइएको उहाँले बताउनुभयो । 

    महानगरभित्र चल्ने बसमा बढी धुवाँ फाल्ने समस्या देखिएको प्रमुख देवकोटाले बताउनुभयो । “समयमा सर्भिसिङ नगरेका, यान्त्रिक अवस्था ठीक नभएका सवारीसाधनमा प्रदूषण बढी देखिएको छ”, उहाँले भन्नुभयो, “यातायात व्यवस्था कार्यालयसँगको सहकार्यमा प्रदूषण परीक्षणलाई थप कडाइसहित निरन्तरता दिन्छौँ ।”

    यातायात व्यवस्था कार्यालय, सवारी कास्कीका प्रमुख ढाकाप्रसाद शर्माले गत वर्ष ‘जेन्जी’ आन्दोलनपछि रोकिएको सवारीसाधनको प्रदूषण परीक्षणलाई पुनःसुरु गरिएको बताउनुभयो । गत असारयता दुईपटकसम्म छड्के रुपमा सडकमै सवारीसाधनको अनुगमन गरिएको उहाँको भनाइ छ । कार्यालयले उजुरीका आधारमा कार्यालयमै ल्याएर पनि सवारीसाधानको यान्त्रिक तथा प्रदूषण परीक्षण गर्ने गरेको छ । 

    उपकरण तथा जनशक्ति अभावका कारण झण्डै एक वर्ष रोकिएको प्रदूषण जाँचलाई अब नियमित गरिने कार्यालय प्रमुख शर्माले बताउनुभयो । “बढी धुवाँ फाल्ने सवारीसाधनलाई पहिलोपटक यान्त्रिक अवस्था सुधारसँगै मापदण्ड पूरा गरेर मात्र चल्न दिने गरेका छौँ”, उहाँले भन्नुभयो, “यही समस्या फेरि देखिएकामा जरिवानालगायत अन्य कानुनी कारबाही गर्छौं ।” 

    प्रदूषण परीक्षण केही समय रोकिएका कारण सुरुमा सवारीसाधनका सञ्चालक र चालकलाई मापदण्ड पालनाका लागि सचेत र जिम्मेवार बनाइएको उहाँले बताउनुभयो । कार्यालयका मेकानिकल सुपरभाइजर सुमन शर्माले प्रदूषण परीक्षणका क्रममा मापदण्ड नपुगेका सवारीसाधनलाई मर्मतसुधार गरी पुनःजाँच पास गरी सञ्चालनका लागि अनुमति दिने गरिएको बताउनुभयो । उहाँका अनुसार सवारीसाधनको प्रदूषण धुवाँको घनत्व (ओपासिटी) मा नाप्ने गरिएको छ । ‘ओपासिटी’को युनिट ६५ प्रतिशतभन्दा बढी भएमा त्यसलाई मापदण्डविपरीत मानिने मेकानिकल सुपरभाइजर शर्माले बताउनुभयो । 

    समयमा सर्भिसिङ नगर्दा कतिपय नयाँ सवारीसाधनमा पनि बढी धुवाँ फाल्ने समस्या देखिने गरेको उहाँको भनाइ छ । प्रदूषणको समस्या अधिकांश पुराना सवारीसाधनमा रहेको उहाँले बताउनुभयो । कार्यालयमा अहिले डिजेलबाट चल्ने सवारीसाधनका लागि दुई वटा र पेट्रोलबाट चल्ने सवारीसाधनका लागि एउटा प्रदूषण जाँच गर्ने उपकरण रहेको छ । 

    सरकारले २० वर्ष पुराना सवारीसाधन विस्थापन गर्ने निर्णय गरे पनि त्यस्ता सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लाग्न सकेको छैन । यान्त्रिक अवस्था ठीक नभएका पुराना सवारीसाधन सडकमा गुड्दा वायु तथा ध्वनि प्रदूषण, दुर्घटनाको जोखिम बढ्नुका साथै ट्राफिक व्यवस्थापनमा चुनौती थपिने गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan