Tuesday 11th of August | २०८३ श्रावण २६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, कम्तीमा १११ जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २६ मंगलबार |

 

काठमाडौं । कोलम्बियामा सोमबार गएको ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा १११ जनाको मृत्यु भएको छ। भूकम्पका कारण पश्चिमी कोलम्बियाका विभिन्न शहरमा भवन तथा संरचना भत्किँदा ठूलो जनधनको क्षति भएको छ।

कोलम्बियाको भौगर्भिक सेवाका अनुसार यो भूकम्प यस शताब्दीमा मुलुकमा गएको सबैभन्दा शक्तिशाली भूकम्प हो। भूकम्पको केन्द्रबिन्दु चोको क्षेत्रको सान होसे डेल पालमार आसपास रहेको बताइएको छ। भूकम्पको धक्का राजधानीसहित देशका विभिन्न भागमा महसुस हुनुका साथै छिमेकी इक्वेडर र पानामासम्म पनि पुगेको थियो।

भूकम्पबाट काली, पेरेरा, क्विब्डो र मनिजालेस लगायतका शहर बढी प्रभावित भएका छन्। सयौँ भवनमा क्षति पुगेको तथा दर्जनौँ भवन पूर्णरूपमा भत्किएको प्रारम्भिक विवरणमा उल्लेख छ। कालीमा मात्रै ठूलो संख्यामा भवन क्षतिग्रस्त भएको बताइएको छ।

भूकम्पपछि भग्नावशेषमा मानिसहरू फसेको आशंकामा उद्धार टोलीले खोजी तथा उद्धार अभियान तीव्र बनाएको छ। स्थानीय बासिन्दा र सुरक्षाकर्मीसमेत भग्नावशेष हटाएर जीवित व्यक्तिको खोजीमा जुटेका छन्। दुर्गम क्षेत्रमा सञ्चार तथा यातायात प्रभावित भएकाले क्षतिको पूर्ण विवरण संकलन गर्न कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन्।

भूकम्पमा कम्तीमा ८७ जना घाइते भएको प्रारम्भिक विवरण छ। अस्पतालहरूलाई उच्च सतर्कतामा राखिएको छ भने प्रभावित क्षेत्रमा आपत्कालीन उद्धार तथा राहत कार्य अघि बढाइएको छ।

भूकम्पपछि कोलम्बियाका राष्ट्रपति अबेलार्दो दे ला एस्प्रिएल्लाले आपत्काल घोषणा गर्दै उद्धार तथा राहत कार्यलाई प्राथमिकता दिएका छन्। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउने र भग्नावशेषमा फसेकाहरूको उद्धारलाई तीव्र बनाउने सरकारको भनाइ छ।

भूकम्पका कारण केही विमानस्थल, सडक तथा सञ्चार पूर्वाधारमा समेत असर परेको छ। पहिरो र संरचना भत्किएका कारण केही स्थानमा आवतजावत प्रभावित भएको छ। प्रभावित क्षेत्रमा थप परकम्पको जोखिम रहेकाले उद्धारकर्मीलाई उच्च सतर्कता अपनाउन भनिएको छ।

यसैबीच, अन्तर्राष्ट्रिय समुदायबाट पनि सहयोगको प्रस्ताव आएको छ। संयुक्त राज्य अमेरिकाले मानवीय राहतका लागि १ करोड ५५ लाख अमेरिकी डलर सहयोग घोषणा गरेको छ भने अन्य देशहरूले पनि उद्धार तथा राहतमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्।

उद्धार तथा क्षतिको मूल्यांकन अझै जारी रहेकाले मृतक, घाइते तथा बेपत्ताको संख्या थप बढ्न सक्ने अधिकारीहरूले बताएका छन्। एजेन्सी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan