दुर्गा प्रसाईंको घरमा प्रहरीको छापा : ६ मोबाइल, ल्यापटप र सीसीटीभी डीभीआर नियन्त्रणमा
काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंको भक्तपुरस्थित निवासमा प्रहरीले खानतलासी गर्दै महत्वपूर्ण विद्युतीय सामग्री नियन्त्रणमा लिएको छ।
उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरी टोलीले बिहीबार प्रसाईंको घरमा खानतलासी गरेको हो। खानतलासीका क्रममा प्रहरीले प्रसाईंले प्रयोग गर्दै आएका ६ थान मोबाइल, एक थान ल्यापटप र सीसीटीभीको डीभीआर बक्स नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी स्रोतका अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) शरतकुमार थापाको नेतृत्वमा टोली प्रसाईंको निवास पुगेको थियो। नियन्त्रणमा लिइएका सामग्री अनुसन्धानका लागि सुरक्षित राखिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
विशेषगरी मोबाइल, ल्यापटप र सीसीटीभीको डीभीआरलाई अनुसन्धानका दृष्टिले महत्वपूर्ण मानिएको छ। यी उपकरणबाट घटनासँग सम्बन्धित संवाद, सम्पर्क, डिजिटल गतिविधि तथा घरभित्र–बाहिर भएका गतिविधिसम्बन्धी थप तथ्य र प्रमाण खुल्न सक्ने प्रहरीको अपेक्षा छ।
प्रहरीले बरामद सामग्रीको डिजिटल परीक्षण तथा आवश्यक अनुसन्धान अघि बढाउने तयारी गरेको छ।
प्रसाईंको घरबाट एकैपटक यति धेरै विद्युतीय उपकरण नियन्त्रणमा लिएपछि अनुसन्धान कुन घटनातर्फ केन्द्रित छ भन्ने विषयमा समेत चासो बढेको छ। यद्यपि प्रहरीले अनुसन्धानको संवेदनशीलता देखाउँदै बरामद सामग्रीबाट के–कस्ता तथ्य खुले भन्नेबारे तत्काल विस्तृत जानकारी सार्वजनिक गरेको छैन।
अब प्रश्न छ—मोबाइल, ल्यापटप र सीसीटीभीको डीभीआरभित्र प्रहरीले खोजेको ‘कडी’ के हो? अनुसन्धान अगाडि बढेसँगै त्यसको जवाफ खुल्दै जानेछ।
