अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १४ जना पक्राउ
काठमाडौं, ५ भदौ : झापा, हल्दीबारी गाउँपालिका-२ पग्लाबारी गाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित सोही ठाउँ बस्ने २५ वर्षीय आषिक हेमरमलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी हल्दीबारीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१९ मिलन चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २८ ग्राम ६ सय मिलिग्राम सहित सुन्दरहरैँचा नगरपालिका-१ बस्ने ३३ वर्षीय धुर्व प्रसाद रिजाल समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको प्रदेश १-०२-०५२ प ६४८८ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
यसैगरी मोरङ, जहदा गाउँपालिका-६ पोखरीया चोकबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोग्राम सहित धनकुटा सहिदभूमी गाउँपालिका-३ छिङताङ बस्ने १८ वर्षिय किशोरलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले बा.५ च ६७०६ नम्बरको कारमा नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१८ अधेरीकुना बस्ने ४० वर्षीय अनुप छत्कुलीलाई नियन्त्रित लागूऔषध टापेन्टाडोल ११ हजार ७ सय ६८ ट्याब्लेट सहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय बैदाम समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ मुग्लिङ पुलजिपबाट नियन्त्रित लागूऔषध डाईजेपाम १२ एम्पुल, फेनारगन १० एम्पुल र बुप्रेनोर्फिन १० एम्पुल सहित भारत घर भएका २३ वर्षीय भुलन खान समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ आउँदै गरेको युपि ५६ बिके ६७६० नम्बरको कारमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
स्याङ्जा, वालिङ नगरपालिका-१ रामबाच्छा ठाटीबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ३९ एम्पुल, डाईजेपाम ३८ एम्पुल र फेनारगन ३९ एम्पुल सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३० वर्षीय सुवाश काफ्ले क्षेत्री र भीरकोट नगरपालिका-२ बयरघारी बस्ने २६ वर्षीय शहिद मिया रहेका छन् । वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरीले ग.१८ प ५४९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुनसरी, इटहरी उपमहानगरपालिका-७ बज्राहा बस्ने ४३ वर्षीय संजिप भडारी चौधरीलाई अवैध लागूऔषध गाँजा १ किलो ३० ग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
चितवन, भरतपुर महानगरपालिका-१ बाट सोही महानगरपालिका-३ बस्ने २१ वर्षीय रिशु रौनियार समेत ३ जनालाई नियन्त्रित लागूऔषध ट्रामाडोल ७५ ट्याब्लेट र एनारगन ७५ ट्याब्लेट सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
